close

मौलिक शैलीमा ठडियो भक्तपुरको ३ नम्बर वडा कार्यालय 

मौलिक शैलीमा ठडियो भक्तपुरको ३ नम्बर वडा कार्यालय 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको वडा नम्बर ३ वंशगोपालस्थित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । नगरप्रमुख सुनील प्रजापतिले भवन उद्घाटन गरे ।

 

मौलिक शैलीमा कलात्मक काष्ठकला, दाची अपाको प्रयोग गरी साढे ३ तले वडा कार्यालय भवन निर्माण भएको हो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको भवनका शिलान्यास २८ मंसिर २०७५ मा गरिएको थियो भने २८ मंसिर २०७७ मा भवन निर्माण सम्पन्न गरिएको थियो । 


नगर प्रमुख प्रजापतिले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालय भवनबाट सेवाग्राहीले सहज सेवा प्राप्त गर्ने र विश्वास व्यक्त गरे ।


    
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्य अगाडि बढाउनुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीयको अपनत्व र बलियो निर्माणको लागि भएको बताउँदै प्रमुख प्रजापतिले नगरबासीको एकता र मिहिनेतले आजको सुन्दर भक्तपुरको परिचय स्थापित भएको सुनाए ।

 

वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराले साविक वडा नम्बर १३ र १६ लाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण गरिएको जानकारी दिए ।
स्थानीयको साथ र सहयोगमा उपभोक्ता समितिमार्फत भवन निर्माण भएको उनले उल्लेख गरे । 

 

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोले भक्तपुरबासीले नगरका हरेक गतिविधिमा अपनत्व लिएर सहयोगी भावनाका साथ अगाडि बढेको बताए । 

 

साविक वडा नम्बर १३ का पूर्ववडाध्यक्ष रामहरि गोराले वडा कार्यालय भवन निर्माणको लागि उपयुक्त जग्गा अभावले गर्दा भवन निर्माणमा ढिलाइ भएको जानकारी दिए । 

 

भवन निर्माणका लागि लागत स्टिमेट २ करोड ७३ लाख ११ हजार ९१४ र कुल खर्च १ करोड ७२ लाख ५३ हजार ३५३ रुपैयाँ रहेको पालिकाले जनाएको छ ।