close

ओलाङ्चुङगोलाको मौवाटारमा बिओपी निर्माण धमाधम

ओलाङ्चुङगोलाको मौवाटारमा बिओपी निर्माण धमाधम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– समुद्री सतहबाट ४ हजार २ सय मिटरको उचाइको मौवाटारस्थित ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको मौवाटारमा बिओपीको कार्यालयसहितको संरचना निर्माण अन्तिम चरणमा पुगेको हो ।

 

मौवाटार ओलाङ्चुङगोला बस्तीदेखि १२ किलोमिटर उत्तरतर्फको दूरीमा पर्छ भने त्यहाँदेखि तिब्बतसँगको सिमाना टिपतालाभन्ज्याङ पनि करिब १२ किमिकै दूरीमा पर्छ । 

 

टिपतालाभन्ज्याङ समुद्री सतहबाट ५ हजार २ सय मिटर दूरीमा छ । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ७ ओलाङ्चुङगोलाको मौवाटारमा सशस्त्र प्रहरी बलको बिओपी रहने गरी गत वर्ष स्थापना गरिएको थियो ।

 

बिओपी रहने मौवाटारमा हिमालयन कन्स्ट्रक्सन ताप्लेजुङले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ । गत जेठ दोस्रो साता करिब ९८ लाख रुपैँयामा योजना सम्झौता गरी संचरना निर्माण गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।

 

आउँदो असोज मसान्तभित्र सम्पन्न गर्ने गरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेमले बताए ।

 

केदेमका अनुसार सभाहलसहितको कार्यालय भवन, भान्सा घर र शौचालयजस्ता संरचना निर्माण गरिएको छ । सबै संरचना करिब ९५ प्रतिशत निर्माण पूरा भएको उनले जानकारी दिए ।

 

बिओपीका लागि खटिएको सशस्त्र प्रहरी टोली हाल ओलाङ्चुङगोलामा बस्दै आएको छ । दुई देशीय सीमा क्षेत्रमा स्थापना गरिएको बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जना जनशक्ति रहनेछ ।

 

हिउँदयामको अधिकांश समय हिउँ परिरहने भएकाले यो बेला मौवाटारबाट बाहिर निस्कन र त्यहाँसम्म पुग्न भने निकै कठिन छ । स्थानीयका अनुसार त्यहाँ सञ्चार सम्पर्कसमेत हुँदैन ।