close

बिर्तामोडका विकास योजना : शिक्षा, स्वास्थ्य र युवा रोजगारलाई प्राथमिकता 

बिर्तामोडका विकास योजना : शिक्षा, स्वास्थ्य र युवा रोजगारलाई प्राथमिकता 

Trulli
ADVERTISEMENT

झापा– बिर्तामोड नगरपालिकाले सुशासनका लागि विगत वर्षबाटै पारदर्शी रूपमा काम गरिरहेको छ । नगरपालिकालाई भ्रष्टाचारमा शून्य सहनशील नगरको रूपमा स्थापित गर्न योजनाबद्ध गतिविधि सञ्चालन गरिरहेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

 

 
कोभिड–१९ महामारी नियन्त्रणका लागि चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा संघ, प्रदेश सरकारका कार्यक्रम र योजनालाई आधार बनाएर अगाडि बढिरहेको नगरप्रमुख शिवाकोटीको भनाइ छ । 

 

नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर बालमैत्री, पूर्ण सरसफाइ एवं प्रविधिमैत्री सिकाइको सिर्जना आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना नारासहित काम गरेको उनको दाबी छ ।

 

शिक्षा क्षेत्रको योजनाबद्ध विकासका लागि शैक्षिक कानुन निर्माण गरी विद्यालय व्यवस्थापन, बालबालिकाको पहुँच तथा निरन्तरतामा जोड दिँदै आधारभूत शिक्षा अनिवार्य तथा सर्वसुलभ शैक्षिक कार्यक्रम सञ्चालन गर्न नगर विकास योजनामा समेटिएको उनले जानकारी दिए । 

 

प्रारम्भिक बालशिक्षा तथा विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकेबमोजिम उपलब्ध गराउने र सिकाइ तथा बाल शिक्षकको क्षमता विकास गर्दै लगिने नगरको योजना छ ।

 

सामुदायिक विद्यालयको बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत सबै बालबालिकालाई विद्यालय पोसाकको व्यवस्था गरिँदा यसबाट उनीहरूको विद्यालयमा पहुँच, निरन्तरता तथा सिकाइ सुधार हुन गई गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पुग्ने अपेक्षा शिवाकोटीको छ ।

 

विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको क्षमता विकास सिकाइमा नवीनतम ज्ञान, सीप, तथा प्रविधिको प्रयोग गर्न उत्प्रेरित गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मासिक प्रधानाध्यापक बैठक, विषयगत शिक्षकको बैठक, समसामयिक तालिम, नियमित तथा सघन अनुगमनजस्ता कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख शिवाकोटीले बताए ।

 

विगत वर्षमा कक्षा ३ देखि ६ सम्म लागू भएको आचरण तथा सचेतना शिक्षा यस शैक्षिक सत्रदेखि कक्षा ८ सम्म लागू गरिने योजनामा समेटिएको छ ।

 

शिक्षामा बालबालिकाको पहुँच तथा निरन्तरताका लागि विभिन्न संघ–संस्थासँगको समन्वयमा विद्यालयमा सवारी साधन व्यवस्थापन गर्न पहल गर्ने, विद्यालयमा पूर्ण सरसफाइ, फूलबारी, बगैँचा निर्माण तथा अभिभावक सचेतनाजस्ता कार्यक्रम सञ्चालन गर्न बाल क्लब, जुनियर रेडक्रस, स्काउट आदिको क्षमता विकास र परिचालन गरिने नगरपालिकाले जनाएको छ । 

 

सहारा नेपालको साझेदारीमा नगरपालिकाभित्रका विद्यालयमास्वच्छ पिउने पानी र सफा शौचालय, विद्यार्थी खाजाघर नभएका र व्यवस्थित नभएका विद्यालयमा खाजाघर निर्माण तथा मर्मतजस्ता कार्यक्रम विगतमै सम्पन्न गरिएको छ ।

 

आगामी आवमा फर्निचर व्यवस्थापन, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिका साथै प्रयोगशाला निर्माण, इन्टरनेट व्यवस्था, कम्प्युटर र अपांगतासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ । तीन वर्षभित्र नगर क्षेत्रमा शैक्षिक संस्थाको भौतिक पूर्वाधारलाई अपांगतामैत्री र प्रविधियुक्त बनाउने योजना नगरपालिकाको छ । 

 

बालबालिकामा अन्तरनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन र विकासका लागि विभिन्न ३ विधामा सहजकर्ताको व्यवस्था, विद्यालय खेलकुद, अतिरिक्त क्रियाकलाप तथा कक्षा ८ भन्दा माथिका बालबालिकालाई छोटो अवधिको सीपमूलक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने योजनामा उल्लेख छ । 

 

छात्राको भर्ना तथा निरन्तरता दरमा वृद्धि भई सिकाइ स्तरमा सुधार हुने अपेक्षासहित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानिटरी प्याड, सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका सबै बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गर्ने योजना नगरको रहेको शिवाकोटी बताउँछन् । 

 

कोरोना महामारीको हालको अवस्थामा बालबालिकाको वैकल्पिक सिकाइ व्यवस्थापन तथा सहजीकरण र स्वास्थ्यसँग सम्बन्धित काम संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा सञ्चालन गरिने र संस्थागत विद्यालयले नियमानुसार उपलब्ध गराउने छात्रवृत्तिलाई विपन्न लक्षित तथा जेहेनदार छात्रवृत्ति उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

 

बिर्तामोडलाई शिक्षाको केन्द्रको रूपमा विकसित गर्न नगरभित्र सञ्चालित सामुदायिक क्याम्पसको गुणस्तर सुधार गर्दै सम्भाव्यताका आधारमा स्नातकोत्तर तहको पठनपाठन र सञ्चालन हुने व्यवस्था मिलाइने नगरप्रमुख शिवाकोटीले बताए ।

 

कृषिमा विकास

 

बिर्तामोड नगरपालिकाले नगर विकास योजनामा कुषि क्षेत्रलाई समेत प्राथमिकता राखेको छ । कृषकको समृद्धि ः व्यावसायिकीकरण र आधुनिक प्रविधि नागरिकहरूको खाद्य सुरक्षाको प्रत्याभूति नारासहित नगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको । कोराना महामारीका बेला नगरले कृषि उत्पादनमा वृद्धि र कृषिमा रोजगारी बढाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । 


त्यसका लागि नगरभित्रका कृषियोग्य जमिनलाई सिञ्चित गर्ने नीतिअनुसार हालसम्म ५३९ वटा साना सिँचाइ कार्यक्रममार्फत १ हजार ६ सय १७ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । सहारा नेपाल साकोससँगको साझेदारीमा सञ्चालित यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिइरहेको छ ।

 

कृषिमा यान्त्रिकीकरण गरेर नागरिकको आम्दानी बढाउने कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य नगरको छ । कृषकलाई मकै व्यवसायमा आकर्षित बनाउँदै परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन मकै छोडाउने मेसिन उपलब्ध गराइरहेको नगरप्रमुख शिवाकोटीले बताए ।


मेयर विषादीमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिने नगर विकास योजनामा उल्लेख छ । यो कार्यक्रमअन्तर्गत हालसम्म ७० जना व्यावसायिक कृषक तरकारी उत्पादनमा आबद्ध भई व्यावसायिक तरकारी उत्पादन गरिरहेका छन् । यो वर्ष थप ४० जना कृषकमा यो कार्यक्रम विस्तार गरिने र कार्यक्रममा आबद्धलाई प्लास्टिक मल्चिङ, प्लास्टिक घर, एग्रो नेट, नर्सरी ट्रे, ग्रीन नेट, भर्मी कम्पोस्ट, जैविक विषादी र वानस्पतिक विषादीलगायत प्रविधि सहयोग गर्ने नगरको योजना छ । 

 

यो कार्यक्रममा आबद्ध कृषकद्वारा उत्पादित विषादीरहित तरकारीको बजार व्यवस्थापन गर्न बिर्तामोडस्थित कृषि थोक बजारमा तरकारी संकलन केन्द्र निर्माण गरी उक्त संकलन केन्द्रमा संकलन भएका तरकारी बजारभित्र ७ वटा बिक्री केन्द्रमार्फत बिक्री वितरण गरी उपभोक्तालाई सहज बनाइरहेको नगरप्रमुख शिवाकोटीले सुनाए ।

 

नगरस्तरीय तरकारी उत्पादन तथा व्यवस्थापन समिति आफैंले तरकारी उत्पादन, संकलन तथा बिक्री वितरण गर्ने हुँदा बिचौलियाको समस्याबाट उत्पादक कृषक तथा उपभोक्ता दुवै मुक्त हुने उनको विश्वास छ । आलु, राज्मा, तोरी, फापर, सूर्यमुखी र कच्छु गरी ६ वटा बालीको व्यावसायिक उत्पादनका लागि एक समूह एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

 

तोरी, फापर र सूर्यमुखी बालीमा उत्पादन वृद्धि गर्न मौरीघार विस्तार गरी बाली र महको उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालनमा प्रोत्साहन गरिने भएको छ ।
कार्यक्रमअन्तर्गत कृषक समूहलाई उन्नत धानको बिउ वितरण, हिउँदे तथा बर्खे तरकारीका उन्नत बिउबिजन वितरण, माटोको गुणस्तर सुधार गर्न कृषि चुनमा सहयोग, कृषि तालिम, कौसी तरकारी खेती तालिम, कृषक पाठशाला सञ्चालन, आईपीएम अनुशरण कार्यक्रम र आकस्मिक बाली संरक्षणजस्ता कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख शिवाकोटीले जानकारी दिए ।

 

हालसम्म नगरपालिकामा दर्ता भएका २ सय कृषक समूहको व्यवस्थापकीय क्षमतामा सुधार गर्दै थप नयाँ कृषक समूह दर्तागर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

 

बिर्तामोड नगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा समेत विभिन्न योजना अगाडि सारेको छ । समृद्धिको आधार स्वस्थ नागरिक नै जिम्मेवार नारासहित नगरपालिकाले योजना बनाएको हो । 

 

स्वास्थ्य 

 

कोभिड–१९ को दोस्रो भेरियन्टको बढ्दो संक्रमणमा पिल्सिएका नगरबासीको जीवन रक्षा गर्न कोभिडविरुद्धको खोप लगाउन संघ एवं प्रदेश सरकारसँग आवश्यक व्यवस्थापनका लागि पहल गरिने योजना अगाडि बढाइएको छ ।

 

क्वारेन्टाइन तथा आइसोलेसन, मनोपरामर्श र सामाजिक पुनस्र्थापनाजस्ता कार्यक्रमलाई निरन्तरता दिने र प्रजनन तथा मातृशिशु स्वास्थ्य कार्यक्रम तथा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख शिवाकोटीको भनाइ छ ।

 

बिर्तामोड नगर अस्पताललाई आगामी आर्थिक वर्षदेखि पूर्ण क्षमतामा सञ्चालन गरिने र त्यसका लागि प्राविधिक जनशक्ति विशेषज्ञ डाक्टर, नर्सको व्यवस्था र स्वास्थ्य सामग्री, डिजिटल एक्सरे, भिडियो एक्सरे, ल्याब व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्था गरिने याजना छ ।  उक्त अस्पतालमा किड्नीका बिरामीलाई डायलायसिस सेवा सुरु गर्ने र बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रमको प्राथमिकतामा समेटिने भएको छ ।

 

नगरभित्रका अति विपन्न १ हजार परिवारलाई छनोट गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै सबै वडामा आफ्नै स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गर्ने कार्यक्रम रहेको नगरप्रमुख शिवाकोटीले बताए ।

 

मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रमअन्तर्गत नगरभित्रका निजी तथा सामुदायिक अस्पतालसँग समन्वय गरी वडाहरूमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । नगरभित्रका सम्पूर्ण महिलालाई सुरक्षित सुत्केरी गराउन आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थासम्म पुयाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने योजना नगरको छ ।


उपमेयरसँग गर्भवती महिला कार्यक्रमअन्तर्गत नगरका सबै गर्भवती महिलालाई ल्याब परीक्षण सेवा निःशुल्क उपलब्ध गराइने नगरप्रमुख शिवाकोटीले बताए ।
पूर्ण खोप सुनिश्चित कार्यक्रमको दिगोपनाका लागि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाको लाइन लिस्टिङ गर्नुका साथै १६ देखि २३ महिना उमेर समूहका खोपबाट छुट भएका बालबालिकासमेतको पहिचान गरी खोप लगाइनेछ । सुरक्षित खोप केन्द्र तथा गाउँघर क्लिनिकको भवन निर्माणलाई निरन्तरता दिने योजना रहेको उनले सुनाए ।

 

कोभिड–१९ नियन्त्रण र व्यवस्थापनका लागि मेची आँखा अस्पतालमा स्थापना गरिएको अक्सिजनसहितको आइसोलेसन केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी बनाउने र स्वास्थ्य केन्द्र, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक तथा सरकारी भवन तथा स्थल सफा राखिने, स्यानिटाइज गरिने योजना नगरपालिकाले समेटेको छ ।


नगरबासीको स्वास्थ्योपचार तथा कोभिड जोखिममा भएकालाई अस्पतालसम्म जान आउन एम्बुलेन्स सेवालाई २४ सै घन्टा परिचालन गर्ने र स्वास्थ्यकर्मीलाई ट्रयाकिङ एन्ड ट्रेसिङ, फिबर सेन्टर सञ्चालन तथा क्वारेन्टाइनमा स्वास्थ्य सुविधा उपलब्ध गराइँदै आएको नगरपालिकाले बताएको छ ।


संक्रमणको जोखिममा रहेकाको पिसिआर परीक्षणलाई सहज र व्यवस्थित बनाउँदै लगिने तथा एन्टिजेन परीक्षण गरिरहेको छ भने समुदाय स्तरसम्म कोरोना संक्रमण फैलन नदिन सचेतना अपनाउन सबै खाले क्रियाकलाप अगाडि बढाउने योजना छ । 

 

नगरका गरामनी, चारपाने र अनारमनी स्वास्थ्य संस्थामा नागरिकलाई विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्य राखी निजी र सामुदायिक अस्पतालको सहकार्यमा निःशुल्क विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध गराइँदै आएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए । 

 

फेयर मेड फाउन्डेसन र सहारा नेपालसँगको सहकार्यमा स्वास्थ्य संस्थाको स्वास्थ्य प्रणालीमा सुधार, भौतिक साधनमा सहयोग तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम चलाइनेछ भने सरकारद्वारा निःशुल्क उपलब्ध गराउन सूचीकृत औषधी नियमित उपलब्ध गराउन पहल गरिने योजना नगरपालिकाले समेटेको छ । 

 


सञ्चार क्षेत्रको विकास

 

नगरपालिकाले सूचना तथा सञ्चारको क्षेत्रमा समेत विभिन्न काम गर्ने योजना बनाएको छ । नगरपालिकाले सञ्चार क्षेत्रको विकास गर्न नगरबाट प्रकाशन, प्रसारण हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनलाई वार्षिक रूपमा लोक कल्याणकारी विज्ञापनबापत अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

नगरमा सूचीकृत र दर्ता भई सञ्चालन, प्रकाशन, प्रसारण हुँदै आएका टेलिभिजन, दैनिक, साप्ताहिक पत्रिका, एफएम, अनलाइनलाई यस्तो रकम दिइने गरेको छ । पत्रकारको वृत्ति विकासका लागि तालिम, पत्रकारका संघ–संगठनको भौतिक तथा पूर्वाधार विकासका लागि सहयोग गरिरहेको नगरप्रमुख शिवाकोटीले बताए ।सूचनाको हकअन्तर्गत नगरपालिकाबाट भए गरेका कार्यको नागरिकले प्राप्त गर्न चाहेका सूचना पाउने अधिकारलाई सुनिश्चित गरिएको छ ।

 

उद्योग वाणिज्य 

 

बिर्तामोड क्षेत्रलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्न व्यवसायमैत्री वातावरण निर्माण र अल्पकालीन तथा दीर्घकालीन योजना तयार गरेको छ । बिर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक तथा व्यापारिक मेला प्रदर्शनी तथा सभा–सम्मेलनका लागि निजी÷ सार्वजनिक र सरकारी निकायबीच समन्वय गर्दै आवश्यक जग्गा व्यवस्थापन गर्न पहल भइरहेको छ ।

 

बिर्तामोड नगर क्षेत्रभित्र औद्योगिक प्रशोधन केन्द्र स्थापनाका लागि उद्योग वाणिज्य महासघसँग सम्झौता भइसकेकाले आगामी आवबाटै उक्त प्रशोधन केन्द्र स्थापना सुरु गरिने नगरप्रमुख शिवाकोटीले जानकारी दिए । नगरभित्रका सबै उद्योगी, व्यवसायीलाई कोरोना महामारीले पारेको असरमा सहयोग गर्ने र कर तथा राजस्वको दायरामा नआएका व्यवसायी उद्योगीलाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कसर्म तथा अन्य वस्तुगत संघ–संगठनसँगको समन्वयका आधारमा आवश्यक राजस्व संकलन गर्ने नीति लागू गरिने भएको छ ।


यसअन्तर्गत पहिलो चरणमा व्यवसाय दर्ता नवीकरण नगरेका पुराना व्यवसायीलाई २०७४ असारसम्मको नवीकरण दस्तुर २०७८ पुस सान्तसम्म नवीकरण गर्दा छुट दिइनेछ । 

 

बिर्तामोडको मुख्य व्यापारिक केन्द्र मुक्ति चोक पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारपाने चोक, गरामनी चोकको सौन्दर्य बढाउने योजना नगरपालिकाको छ । नगरभित्रका उद्योगी व्यवसायीका संस्थाको डिजिटल तथ्यांक संकलन प्रोफाइल निर्माण गरिने नगरप्रमुख शिवाकोटीले बताए ।

 

बिर्तामोड, गरामनी, सैनिक, चारपानेलगायत हाट बजारलाई व्यवस्थित बनाई कृषकले उत्पादन गरेका वस्तुको बिक्रीस्थल निर्माणको पहल भइरहेको छ ।

 

संस्कृति तथा पर्यटन 

 

नगरपालिकाले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि ऐतिहासिक पोखरी संरक्षणको नीतिलाई निरन्तरता दिएको छ । पोखरीको पौराणिकता र ऐतिहासिक महत्त्व झल्काउँदै पोखरीदेखि पोखरी अभियान चलाइनेछ । नगर क्षेत्रका मठमन्दिरको जीर्णोद्धार, सुधारका लागि काम भइरहेको नगरप्रमुख शिवाकोटीको भनाइ छ ।


नगर क्षेत्रमा रहेका पर्यटकीय स्थल सम्वद्र्धनका निम्ति समुदायमाझ जागरण अभियान सञ्चालन गरेर भौतिक विकास गर्ने योजना अगाडि बढेको छ । नगर क्षेत्रका धार्मिक स्थल संरक्षण तथा व्यवस्थापन गर्दै धार्मिक पर्यटन विकास गरिने भएको छ ।

 

सहकारी संस्था 

 

स्थानीय सहकारी संस्थाको साझेदारीमा सहकारी संस्थाका सञ्चालक, लेखा समिति र व्यवस्थापकलाई लेखा र व्यवस्थापन तालिम, क्षमता विकास तथा सदस्यलाई स्वरोजगार हुने गरी विभिन्न आयमूलक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।


सहकारीका सम्पूर्ण विवरणलाई विद्युतीय माध्यम (सहकारी गरिबी निवारण व्यवस्थापन सूचना प्रणाली) मा अद्यावधिक गर्ने व्यवस्था मिलाइनेछ । स्थानीय सहकारीबीच विभिन्न खाले साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

 

नागरिकलाई व्यावसायिक बनाउन स्वरोजगारमूलक तालिममार्फत व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी सहकारीमार्फत उपलब्ध गराउने योजना नगरपालिकाको छ । उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषि र पशुपालन व्यवसायलाई व्यावसायिक बनाउन सामूहिक उत्पादन, बजारीकरणका लागि नगर क्षेत्रभित्रका सहकारीसँग कार्ययोजना बनाई अगाडि बढ्ने योजनासहित काम भइरहेको नगरप्रमुख शिवाकोटीले बताए ।

 

न्याय

 

न्यायिक समितिले प्रचलित कानुनबमोजिम उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने विधि तथा प्रक्रियालाई स्पष्टता, एकरूपता र पारदर्शिता कायम गरी कानुनी शासन तथा न्यायप्रतिको जनविश्वास कायम राख्न न्यायिक समितिको कार्य प्रक्रियालाई थप व्यवस्थित बनाइँदै लगिएको नगरपालिकाको भनाइ छ ।


न्यायिक समितिको कार्यविधिअनुसार हरेक वडामा रहेका मेलमिलाप केन्द्रलाई सक्रिय बनाइने, वडा मेलमिलाप केन्द्रका सदस्यलाई उचित प्रोत्साहन गरिने योजना पनि नगरले अगाडि सारेको छ ।


सुशासन : भ्रष्टाचारमुक्त प्रशासन 

 

नगरपालिकाले खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाई सुशासनयुक्त नगरको जनमुखी, सेवामुखी, जनउत्तरदायी संस्थाको रूपमा रहने प्रतिबद्धता जनाउँदै आएको छ । नगरपालिकाबाट प्रदान गरिने सबै सेवालाई नागरिकमैत्री बनाइने नगरप्रमुख शिवाकोटीले बताए ।


त्यसका लागि नागरिक सहायता कक्ष, सेवाग्राहीको सुविधाका निम्ति डिजिटलाइट नागरिक बडापत्र र विश्राम कक्षको व्यवस्था गरिने उनको भनाइ छ । योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्न नगरपालिकाबाट भएका सबै क्रियाकलापलाई हरेक चौमासिकमा सार्वजनिक गरिँदै आएको उनले जानकारी दिए ।


कार्यालयबाट हुने कामको लेखा र लेखांकन पद्धतिमा देखिने जटिलता सुधार गर्दै बेरुजु नहुने ढंगले कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । त्यसका लागि लेखा व्यवस्थापनलाई प्रविधिमैत्री बनाइने भएको छ ।


नगरपालिकामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीको मनाबवल उच्च राख्न कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था गरिएको छ । 


पूर्वाधार तथा सहरी विकास

 

नगरभित्र निर्माणधीन तथा अधुरा रहेका नाला तथा सडकमा पेवर्स लगाउने तथा कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिइँदै आएको छ । ठेक्का प्रक्रियाबाट निर्माण भइरहेका बहुवर्षीय योजनालाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गरिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए ।

 

नगर गौरवका योजना छनोट गरी प्राथमिकतामा आधारमा संघीय तथा प्रदेश सरकारसँगको साझेदारीमा कार्यान्वयनमा लैजान लागिएको उनको भनाइ छ ।

 

सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत तीन वटा सडक निर्माण आयोजना (खालबारीबाट शुक्रराज निमावि हुँदै सेन्ट जेभियर्स स्कुलबाट केरकेरुबारी हुँदै गरामनी बजार भुसाबाडी जोड्ने सडक, राम चोकबाट कमालवाडी हुँदै सैनिकमोड जोड्ने सडक, पुरानो भद्रपुर रोडबाट हुलाकी मार्ग) निर्माणाधीन रहेोमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको छ ।

 

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बुट्टाबारीहुँदै प्याकुरेल चोक जोड्ने सडक निमार्णका लागि विश्व बैंकसँग सम्झौता भइसकेकाले आगामी आर्थिक वर्षबाट काम थालिने शिवाकोटीले बताए ।

 

नगर क्षेत्रभित्रका महत्त्वपूर्ण सडकको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न थार्लिको छ । नगरको नगर यातायात गुरुयोजना तयार गर्ने कार्य अगाडि बढेको छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न नगर क्षेत्रभित्र बन्ने नयाँ संरचनामा सरकारले निर्धारण गरेअनुसारको राष्ट्रिय भवनसंहिता तथा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ बमोजिम मात्र घर नक्सा पास गरिने भएको छ ।

 

सबै नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानीका पाइप विस्तार तथा थप पानीट्यांकी निर्माणका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिँदै आएको छ । विद्युतीकरण, टेलिफोन लाइन विस्तार तथा सडक निर्माण गर्दा सम्बन्धित क्षेत्रका निकायसँग समन्वय गरिरहेको शिवाकोटीले सुनाए । 

 


राजस्व प्रशासन 

 

नगरपालिकाबाट उठाइने सम्पत्ति कर, मालपोत वा भूमिकर, व्यवसाय कर, नक्सा पास दस्तुरलगायत सम्पूर्ण कर र दस्तुर, शुल्क तथा राजस्वको दरमा सामान्य संशोधन मात्र गरिएको छ । नगरपालिका क्षेत्रभित्र सबैभन्दा बढी सम्पत्ति कर तथा व्यवसाय कर तिर्ने करदाता २ जनालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिने भएको । घर वहाल कर संकलन गर्दा नगरलाई व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र र ग्रामीण कृषि क्षेत्रजस्ता क्लस्टरमा विभाजन गरी मूल्यांकन गर्न थालिएको शिवाकोटीले जानकारी दिए ।

 

लक्षित वर्ग तथा समुदाय

 

नगरपालिकाले सुरु गरेको विपन्नलाई आवास कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा सहारा नेपालको सहकार्यमा थप १०० वटा घर निर्माण गरिँदै छ । अव्यवस्थित बसोबासीलाई निश्चित क्षेत्रमा घर बनाई व्यवस्थापन गर्न थालिएको शिवाकोटीको भनाइ छ । निम्न वर्गका लागि अनुदानमा आधारित गोबरग्यास निर्माण गर्ने अभियानलाई थप प्रभावकारी बनाइँदै लगिएको छ ।

 

जहाँ पर्छ अभर, त्यहाँ बिर्तामोड नगर नारालाई सार्थक बनाउन विपन्न, दलित, आदिवासी, जनजाति, मधेसी, अल्पसंख्यक, अपांगता भएका, अशक्त, महिला तथा बालबालिकालाई नगरबाट उपलब्ध गराउने सबै किसिमका सेवा–सुविधामा सहभागी गराइँदै आएको छ । अति विपन्न, अशक्त, असहाय, दीर्घरोगीको स्वास्थ्योपचारका लागि स्वास्थ्य सहायता कोष स्थापना गरिने भएको छ ।

 


बौद्धिक र शारीरिक अपांगता भएकालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने र ससाना व्यवसाय र उद्यमसँग जोड्ने योजना रहेको नगरप्रमुख शिवाकोटी सुनाउँछन् । महिला तथा बालबालिका र लक्षित वर्गको सशक्तीकरणका लागि सचेतना कार्यक्रम चलाइँदै आएको उनको भनाइ छ ।

 

सबै वडामा गठन भएका टोल विकास संस्था परिचालन गरी सामाजिक विकृति र कुरीति उन्मूलन गर्ने अभियान सञ्चालन गरिनेछ भने फोहोरमैला व्यवस्थापन, राजस्व संकलन र योजना तर्जुमा कार्यान्वयनमा टोल विकास संस्थासँग सहकार्य गर्ने गरी काम भइरहेको छ । वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमै आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

 

पशुपक्षी तथा मत्स्य विकास

 

नगरपालिकाले गाईभैंसी, बाख्रा र बंगुरमा कृत्रिम गर्भाधान गर्ने कार्यक्रमलाई थप व्यवस्थित बनाएर एआई मिसन कार्यक्रम सञ्चालन गर्नेछ । गाईमा सेक्स सिमेनको प्रयोगबाट कृत्रिम गर्भाधान गरी उन्नत नश्लका बाछाबाछी उत्पादन गरी दुध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना अगाडि सारिएको छ ।

 

नगरप्रमुख पकेट कार्यक्रमबाट उत्पादित खसी, बंगुर र कुखुराको स्वस्थ तथा व्यवस्थित मासु बिक्रीका लागि फ्रेस हाउस सञ्चालन गर्ने योजनामा नगरपालिका छ । नगर प्रमुख पकेट साटासाट कार्यक्रममा संलग्न कृषक, साना, मझौला र ठूला कृषकलाई स्थानीय स्तरमा दाना तथा मिनरल ब्लक बनाउने तालिम दिइने भएको छ । पशुधन बिमा कार्यक्रमअन्तर्गत कृषकले तिर्ने बिमा शुल्कमा अनुदान दिने व्यवस्था नगरपालिकाले मिलाएको छ । पशुपक्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रमलाई प्राथमिकता दिइएको नगरप्रमुख शिवाकोटीको दाबी छ ।

 


संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा मत्स्यपालनसम्बन्धी कार्यक्रम, मत्स्य पकेट तथा साना किसानका लागि बंगुर प्रवद्र्धन पकेट कार्यक्रम सञ्चालन गरिँदै छ । पशुपक्षी तथा मत्स्य विकास शाखाको समन्वयमा पशुपालनको सम्भावना रहेका सबै वडामा वडागत रूपमा सञ्चालन हुने गरी पशु प्रवद्र्धनात्मक विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।

 


जिन्सी व्यवस्थापन

 

नगरपालिकाले जिन्सी व्यवस्थापनलाई प्रभावकारी बनाउँदै लगेको छ । जिन्सी अभिलेखमा नभएका सबै प्रकारका सामानलाई अभिलेखीकरण गर्न लागिएको शिवाकोटीले बताए । त्यसका लागि मर्मतयोग्य सबै प्रकारका जिन्सी मालसामान मर्मतसम्भार गरी उपयोगमा ल्याइनेछ ।

 

नगर क्षेत्रभित्र निर्माण हुने भौतिक संरचनालाई विपद् न्यूनीकरण गर्ने प्रकृतिका योजना तथा निर्माणलाई प्रोत्साहित गर्ने काम अगाडि बढेको छ । नगरभित्र आगलागी हुन नदिन तथा भइहाले नियन्त्रण गर्न चालू हालतमा रहेको दमकललाई आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्दै लगिने नगरप्रमुख शिवाकोटीले बताए । प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न अदुवा खोला नियन्त्रणलगायत विपद् व्यवस्थापनका लागि आवश्यक कार्य गरिनेछ । 

 

नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्न नगरभित्र सौर्य ऊर्जा तथा वायोग्यास जडान गर्ने काम थालिने भएको छ । नगरपालिकाले डिजिटल नगर प्रोफाइल तयार गरिसकेको छ । कोइला तथा इँटाभट्टाबाट भएको प्रदूषण न्यूनीकरण गर्ने योजना नगरपालिकाको छ ।


नगरपालिकाले लोकतन्त्रको आन्दोलनमा घाइते भएका र मृत्युवरण गरेका परिवारलाई शिक्षा, स्वास्थ्य तथा रोजगार क्षेत्रमा प्राथमिकताका दिइरहेको शिवाकोटीले बताए ।

 

नगरपालिकाले चालू आव २०७७/७८ का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँको आयव्यय अनुमान सार्वजनिक गरेको छ ।