close

२ लेन थपिँदै कोटेश्वर–जडीबुटी सडक

२ लेन थपिँदै कोटेश्वर–जडीबुटी सडक

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंको कोटेश्वर क्षेत्र । बाह्रै महिना जाम भइरहने चोक ।  ट्राफिक जाम व्यवस्थापन गर्न विभिन्न विकल्पको अध्ययन तथा छलफलपछि दाँयाबाँया २ लेनको सडक थपिने भएको छ । 


तीनकुने–कोटेश्वर–जडीबुटीसम्म नै हुने ट्राफिक जाम न्यूनीकरण गर्न कोटेश्वर चोकमा फ्लाईओभर, अन्डरपास वे र सुरुङमार्गजस्ता विकल्पमा अध्ययन भएका छन् ।

 

ती अध्ययनबाट तत्काल कुन संरचना वा कुन विकल्पको संरचना निर्माण गर्ने भन्ने विषय लामो समय लाग्ने देखिएपछि सडक विभागले जडीबुटी–चोकदेखि कोटेश्वर चोक हुँदै चक्रपथसम्म जोड्ने गरी १ लेन सडक विस्तार गर्ने भएको हो ।


तीनकुने तर्फबाट कोटेश्वर–जडीबुटी सडक खण्डसम्म पुग्ने गरी बाँयातर्फबाट पनि १ लेनको सडक विस्तार गरिनेछ । यसमध्ये पहिलो चरणमा दाँयातर्फ १ लेनको सडक विस्तार भइरहेको छ ।


विभागले पहिलो चरणमा विस्तार गर्दै आएको कोटेश्वर–जडीबुटी चोकसम्मको दाँयातर्फको थप १ लेनको सडक करिब ३ महिनामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले कोटेश्वर चोकदेखि जडीबुटीसम्म १÷१ लेनको सडक निर्माण गरिने जानकारी दिए ।


अहिले जडीबुटी चोकदेखि चक्रपथतिर आउने सवारीसाधनका लागि १ लेन थपिएको छ । यद्यपि जडीबुटी चोकमा एउटा घर अधिग्रहण र केही पसल व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन समस्या भएको उनले बताए ।


उक्त चोकमा रहेका पसललाई मिलाएर पर्खाल लगाउन समन्वय भए उक्त लेन सञ्चालन गर्न सकिन्छ । ‘जडीबुटी चोकमा पर्ने सो घर अधिग्रहण गरी पहिलै मुआब्जा दिइएको भन्ने छ,’ नेपालले भने, ‘तर, उक्त विषयका कागजात नभेटिँदा पुष्टि हुन सकेको छैन । अधिग्रहणको समस्या सल्टिए ३ महिनाभित्रै उक्त लेनमा यातायात सञ्चालन गर्न सकिनेछ ।’


गत असारमै लेन सम्पन्न गर्ने गरी सडक विभागले फागुनदेखि यो लेन निर्माण सुरु गरेको थियो । त्यसपछि कोभिडको समस्या, मुआब्जालगायतले पूरा हुन सकेको छैन । कोटेश्वर चोकमा अत्यधिक सवारीसाधनको चाप हुँदा घन्टौँ ट्राफिक जाम हुँदै आएको छ ।