close

यलम्बर हाङको १०० फिट अग्लो शालिकसहितको पार्क शिलान्यास

यलम्बर हाङको १०० फिट अग्लो शालिकसहितको पार्क शिलान्यास

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुइपामा प्रथम किराती राजा यलम्बर हाङको १०० फिट अग्लो शालिक शिलान्यास गरिएको छ ।


आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत र प्रदेश १ सरकारको ७० प्रतिशत गरी १४ करोड रुपैयाँको लागत सहभागितामा पूरा गर्ने गरी बुइपाको पञ्चरदोबाटोमा प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको हो ।


नछुङ धनीराम नछुङले मुन्धुमी विधिअनुसार माङी गरेपछि दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क शिलान्यास गरे । 


दिक्तेल र उदयपुरको गाईघाट जोड्ने महुरे–फोक्सिङटार सडकले छोएको पञ्चरदोबाटोमा रहेको करिब ३० रोपनी सार्वजनिक जग्गाभित्र चोभारको मञ्जुश्रीपार्कको शैलीमा यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माण सुरु गरिएको हो ।


किराती पुर्खाको सम्मान तथा धार्मिक, पर्यटन क्षेत्रलाई विकास गर्ने उद्देश्यले यलम्बर हाङको शालिक निर्माण गरिएको नगरप्रमुख रिजालले बताए । रिजालले भने, ‘नगरपालिकामा मात्र नभएर यलम्बर पार्कले जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास छ ।’


पञ्चरदोबाटोमा पार्कसहितको यलम्बर हाङको शालिक राख्न २०७५ असोजमा सर्भे गरिएको थियो । यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माणको ठेक्का उमा–तुवाचुङ–अनसुवी जेभीले लिएको छ ।


आगामी १८ महिनाभित्र यलम्बार पार्क तथा यलम्बरको शालिक राख्ने काम पूरा हुनेछ । यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका क्रममा हालसम्म १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।


शालिकसहितको पार्क बनेपछि बजार प्रवद्र्धनमा समेत टेवा पुग्नुका साथै किराँतीहरूको धर्म–संस्कारको अध्यनन् केन्द्र तथा अनुसन्धान स्थल बन्ने विश्वास किरात योयाख्खाका केन्द्रीय कोषाध्यक्ष देवन राईले व्यक्त गरे ।


२०७६ देखि यलम्बर पार्कको काम थालेको निर्माण कम्पनीले २०७८ असारमा यलम्बरको शालिक निर्माणका लागि सम्झौता गरेको हो । पार्कअन्तर्गत हालसम्म गेट, बाटो, कफीसप, रेस्टुरेन्टलगायत संरचना बनिसकेको छ । 


यलम्बर पार्कमा घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, फ्री–वाईफाई, कफी तथा फास्टफुडलगायत आधुनिक सेवा–सुविधासहितको संरचना निर्माण गरिने डिपिआरमा उल्लेख छ । 


प्रवेश शुल्कबापत संकलन हुने रकमको ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत रकम प्रदेश सरकारको कोषमा जम्मा हुने गरी यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणको काम अघि बढाइएको हो ।


पछिल्लो समय बजारको रूपमा विकास हुँदै  गएको बुइपामा किराँती समुदायका पहिलो राजा यलम्बर हाङको १०० फिटको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीय खुसी छन् ।