close

जुम्लामा बाढीले विद्युत्गृह बगाएपछि गाउँबस्ती अन्धकार

जुम्लामा बाढीले विद्युत्गृह बगाएपछि गाउँबस्ती अन्धकार

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा बेमौसमी वर्षाको बाढीपहिरोले विद्युत्गृह, नहर र बाँध बगाएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीले आधा दर्जन बढी विद्युत् आयोजना प्रभावित हुँदा आपूर्ति अवरुद्ध भएसँगै जुम्लाका गाउँबस्ती अन्धकार भएका हुन् । 

 

तातोपानी गाउँपालिका र तिला गाउँपालिका क्षेत्रभित्र रहेका विद्युत गृहमा बाढीले क्षति गरेको हो । विद्युत्गृहमा क्षति पुगेपछि दुई स्थानीय तहका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । 


तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पालिकाभित्रका ५ जलविद्युत् आयोजनामा क्षति पुगेको बताए । तातोपानी वडा नम्बर ८ को घट्टेखोला साना जलविद्युत् आयोजना २१ किलोवाट, इमिल्चा साना जलविद्युत् आयोजना ९ किलोवाट र वडा नम्बर ७ को १८ किलोवाटको ताम्ती साना जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको ।


यी तीनै आयोजनाको विद्युत्गृह नहर र बाँध बगाएको उनले बताए । उनले भने, ‘यी आयोजनाको सबै संरचना बाढीले बगाइसकेको छ । बाढीले बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।’ 

 

तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित २ सय किलोवाटको गिरीखोला साना जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । हाँकु गाउँमा रहेको साना जलविद्युत्मा पनि क्षति पुगेको उनले बताए । 

 

गिरीखोला विद्युत् आयोजनाबाट भर्खर मात्र बिजुली निकालेर गाउँमा लगिएको थियो । यो क्षेत्रका तीन गाउँमा दुई सातादेखि बिजुली बलेको थियो । बाढीले आयोजनाको विद्युत्गृहमा रहेको आउटलेट क्यानल ५७ मिटर, इन्टेक कटान गरी पूरै संरचना पुरिएको विद्युत् आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।


यो आयोजनाले तातोपानीको बाइराकादेखि चन्दननाथ नगरपालिकाको श्रीढुस्का बस्तीसम्म विद्युत् सेवा दिने तयारी भइरहेको थियो । विद्युत्मा क्षति पुगेको गाउँबस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न पहल भइरहेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘तत्काल विकल्पका रूपमा सोलारको व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरेका छौँ । राष्ट्रिय प्रसारण लाइन जडानमा पनि प्राथमिकता दिइनेछ ।’  विद्युत्गृह अवरुस्द्ध भएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । यसले यो क्षेत्रमा सञ्चार सम्पर्क गर्न कठिन भएको छ । 


तिला गाउँपालिकामा तीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । वडा नम्बर ४ मा रहेको नांगाडा जलविद्युत् आयोजनाको पोल र तार बगाएको छ । यहाँबाट १६ किलोवाट विद्युत् उत्पादन हुने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए ।

 

‘गाउँमा बिजुली बलिरहेको थियो । तर, बाढीले क्षति पुगेपछि अहिले बन्द छ’, उनले भने, ‘विद्युत बगाएपछि गाउँ अन्धकार भएको छ । यो विद्युत्ले गाउँमा दुई मिल चलेका थिए । मिल पनि बाढीले बगाएको छ ।’ 

 

स्थानीय स्तरमा उत्पादन गरिएको बिजुली बाढीले बगाएपछि राष्ट्रिय प्रसारण लाइन जडान तथा विद्युत् मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण जुम्लासहितको टोलीमार्फत अनुगमन गरिएको उनले बताए । 


सोही क्षेत्रमा रहेको नुवाकोट लघु जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा थियो । स्टोर रूपमा राखेको ४० वटा पोल, ५ हजार मिटर सेतो र ५ हजार मिटर कालो तार, अर्थिङको सामान र प्लेट सबै बगाएको छ । सबै सामान बगाएपछि विद्युत् निर्माण अनिश्चित बनेको छ । तिलाकै भेरीखोला लघु जलविद्युत् आयोजना सापुल्लीमा २१ किलोवाट विद्युत् निकालिएको थियो । बाढीले नहर भत्काएको छ । विद्युत्गृहमा कटान गरेको छ । सडकसँग जोडिएको क्षेत्र भएकाले राष्ट्यि प्रसारण लाइन विस्तारमा जोड दिइने भएको छ ।