close

चार महिनासम्म अगाडि बढेन मेलम्ची आयोजना पुनर्निर्माण 

चार महिनासम्म अगाडि बढेन मेलम्ची आयोजना पुनर्निर्माण 

Trulli
ADVERTISEMENT

काठमाडौं– मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको चार महिना बितिसक्दासमेत आयोजनाको क्षतिको अहिलेसम्म यकिन हुन नसकेको हो ।


कात्तिकसम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
सडक नै खुल्न नसकेकाले अझै आयोजना स्थलमा उपकरण लैजान सकिएको छैन । पुलबजार–अम्बाथान सडक ठाउँ–ठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो । वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाटै सडक खुलाइरहेको समितिले बताएको छ ।


हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाटै खोलिएको उनले बताए । उपकरण पुर्‍याउन बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन । गाउँपालिकाले सडक खुलाइरहेकाले उससँगको छलफलबाट कहिलेसम्ममा खुल्छ भनेर थाहा हुने उनले जानकारी दिए ।


समितिले असोजमा सडक खुलाउने योजना बनाए पनि काम हुन सकेको छैन । पुरानो ट्रयाक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्नेछ । खोलामा पानीको बहाव कम भएपछि मात्रै काम गर्न सकिनेछ ।


हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ । चनौटेमा ह्युमपाइप राखेर क्रसिङ बनाएको छ । ठाउँ–ठाउँमा काम गरिरहे पनि केही दिनअघिको वर्षाले पुनः क्षति पुगेको आयोजनाले बताएको छ ।

 

वर्षाले आयोजनाको सुरुङबाहेक अरू संरचनामा क्षति पुगेको अनुमान गरिएको छ । हेडवर्कलगायत संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकिन हुन नसकेको सूचना अधिकारी पन्तले बताए । 


यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकिन गर्न नसकेका हुन् । ‘उपकरणले पुरिएका संरचना बाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ,’ उनले भने ।

 

आयोजना स्थलमा कैयौँ फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ । एकै पटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताए । साँघुरो ठाउँ भएकाले एकै पटक धेरै उपकरण लैजान नसकिने उनको भनाइ छ ।

 

थुप्रिएका सबै पदार्थ दीर्घकालीन रूपमा सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्ने देखिएको छ । अहिलेका लागि अस्थायी रूपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिने अनुमान गरिएको छ । उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिने÷नसकिने थाहा हुने उनले बताए ।