close

मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा काटिँदै ७ हजार रुख 

मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा काटिँदै ७ हजार रुख 

Trulli
ADVERTISEMENT

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक खण्ड विस्तार गर्दा तनहुँमा करिब ७ हजार रुख काटिने भएको छ ।  मुग्लिङ–पोखरा सडक खण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार ७५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्न वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 


उनका अनुसार सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्नेछ । कास्की खण्डमा भने १ हजार २५० वटा रुख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ । 


चार लेनको मुग्लिङ–पोखरा ८० किलोमिटर सडक विस्तारमध्ये हालसम्म तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादी क्षेत्रको ८ किलोमिटर दूरीमा सडक आसपासका बिजुलीका पोल सार्ने काम सकिएको छ । 

 

२०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।  जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

 

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा पनि काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन–पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । 


सर्वे डिजाइन सकाएर फाइनल गर्ने चरणमा रहेको उनले बताए । उनका अनुसार ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको छ ।

 

मुग्लिन–पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाका कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगका छन् । १३ भदौमा यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले बताए । 

 

२७ भदौमा निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि आए पनि कामदार भने आइपुगेका छैनन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । 


कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माण स्थलको निरीक्षण, बिमा र पेस्की लिन कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन् । ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।

 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।  डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछन् । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन–पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिए । 


तीमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए । बाँकी २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुनेछन् । 

 

आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदै छ । यो खण्डमा हाल पृथ्वी राजमार्ग भएको स्थानमा मस्र्याङ्दी जलविद्युत्गृह छ । जलविद्युत्गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकनै परिवर्तन गर्नुपरेको छ ।

 

चालू आर्थिक वर्षमा संघीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि ४ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ९ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन भएको थियो ।