तनहुँ– व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ ।
मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि समितिले बुझाउनुपर्ने रकमका लागि ऋण माग गरिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट भएको छ । नेपाल सरकारको ७० प्रतिशत र ३० प्रतिशत खानेपानी संस्थाले बेहनुपर्ने हुँदा रकम जुटाउन नसक्दा ऋण लिएर आयोजना सम्पन्न गर्न लागेको समितिले जनाएको छ । संस्थाले जम्मा गर्नुपर्ने ३० प्रतिशतमा ५ प्रतिशत नगद जम्मा गरिसकेको र २५ प्रतिशत अपुग हुने देखिएपछि ऋण लिएर भए पनि वडावासीलाई पानी वितरण गर्ने लक्ष्य राखेको छ ।
ऋणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गरी प्रक्रियामा राखिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए । ‘ऋण लिएपछि किस्ताबन्दी रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ’, उनले भने, ‘उक्त आयोजना निर्माण सम्पन्न पश्चात व्यास नगरपालिका–१ का पूरै र वडा नं १२ का केही बासिन्दालाई दीर्घकालीन रुपमा खानेपानीको समस्याको अन्त्य हुन्छ । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुवात भई हालसम्म २५०० बढी निजी धारा जडान गरिसकेको छ ।