close

सोलु करिडोर प्रसारण लाइन : आठौँ पटक थपियो म्याद

स्थानीयको अवरोधले राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ

सोलु करिडोर प्रसारण लाइन : आठौँ पटक थपियो म्याद

स्थानीयको अवरोधले राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ

Trulli
ADVERTISEMENT

उदयपुर–निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको म्याद आठौं पटक थप गरिएको छ । उदयपुरको कटारी नगरपालिका क्षेत्रमा साढे ३ वर्षदेखि स्थानीयले अवरोध गर्दै आएपछि निर्माणमा विलम्ब हुँदा आठौं पटक म्याद थपिएको हो । कटारी नगरपालिका वडा नम्बर ४ मरुवास्थित स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण साढे ३ वर्षयता रोकिँदै आएको छ । 

 

मरुवाका स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिबर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध गरिरहेका छन् ।स्थानीयको अवरोधका कारण ३ वर्षदेखि काम अगाडि बढ्न सकेको छैन । निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युत्मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । स्थानीयको अवरोधकै कारण आयोजनामा सातौँ पटक थपिएको म्याद सेप्टेम्बरमा सकिएको छ । पुनः आठौँ पटक डिसेम्बर २०२१ सम्मका लागि म्याद थप गरिएको सोलु करिडोर आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिए ।

 

आयोजनाको ३०२ मध्ये अहिलेसम्म २९८ वटा टावर निर्माण सकिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई काम सुरु गरेको आयोजना हालसम्म पूरा हुन सकेको छैन ।

 

आयोजनाको सन् २०२१ सेक्टेम्बरमा काम सक्ने सर्तमा सातौँ पटक म्याद थप गरेको थियो । तर, थपिएको समयसीमामा काम नहुँदा पुनः ३ महिनाका लागि समय थप गरिएको आयोजना प्रमुख गौतमले बताए ।

 

आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयीको बारम्बारको अवरोधले समयमै सम्पन्न हुन नसकेको हो ।

 

सिराहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ मध्ये २९८ वटा टावर निर्माण गरेर तार तान्ने काम सकिएको छ । मरुवाका स्थानीयको अवरोधका कारण ४ वटा टावरको फाउन्डेसन निर्माण गर्ने क्षेत्रमा अवरोध हुँदै आएको छ ।

 

कटारी नगरपालिका वडा नम्बर ४ मरुवा, सिम्ले, बर्मझियाका २३ घरपरिवारले प्रसारण लाइनको एलाइमेन्ट परिवर्तनको माग गर्दै अवरोध गरेका छन् । उनीहरूले एलाइन्ट परिवर्तन नगरिए २०७५ मा निर्धारण गरेको मुआब्जा पुनः मूल्यांकन गर्न माग गरेका छन् ।


त्यसबेला प्रतिकठ्ठा २० लाख रुपैयाँका दर मूल्यांकन गरिएकामा अहिले नगरपालिकाले सिफारिस गरेको प्रतिकठ्ठा ५० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग राखी आयोजना निर्माणमा अवरोध पुर्‍याइरहेका छन् । 

 

मरुवामा ४ वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको हो । सिराहादेखि सोलुसम्मको ९० किलोमिटर दूरीको करिडोरमा अहिलेसम्म २९८ वटा टावरका ८७ किलोमिटरमा तार टाँगिसकिएको छ । बाँकी ३.०३ किलोमिटर स्थानीयले अवरोध गरेको क्षेत्रभित्र पर्छ ।कटारी नगरपालिकाको लेखानीमा ७ किलोमिटर अर्थिङ गर्न बाँकी रहेको र अन्य काम सकिएको आयेजनाले जनाएको छ । 

 

प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रमा हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रि«य प्रसारण लाइनमा जोड्ने योजना छ ।  नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

 

२०७२ चैतमा भारतीय मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । 

 

आयोजनाअन्तर्गत उदयपुरमा पर्ने १४१ मध्ये ४ वटा टावर निर्माणमा अवरोध भएको छ । ओखलढुंगामा ११२, सोलुखुम्बुमा २४ र सिराहामा २५ वटा टावर निर्माण भइसकेका छन् ।

 

सोलुखुम्बुको तिन्लामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । सिराहाबाट गएको ३३ केभी लाइनलाई तिन्ला सबस्टेसनमा जोडिएको छ ।

 

प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेका १२ जलविद्युत् आयोजनाको ३२५ मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनेछ । सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यही लाइनमा जोडिनेछ ।यी आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाले प्रसारण लाइन अभावमा उत्पादित विद्युत् खेर जाने चिन्ता प्रवद्र्धकले गर्दै आएका छन् ।