close

मकवानपुरगढीको टावरडाँडामा खानेपानी आयोजना निर्माण

मकवानपुरगढीको टावरडाँडामा खानेपानी आयोजना निर्माण

Trulli
ADVERTISEMENT

वाग्मती– लामो समयदेखि  खानेपानीको अभाव झेल्दै आएका  स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा १  करोड ६ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

 

जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका छन् ।

 

जिल्ला समन्वय समितिको  ६० लाख र सो गाउँपालिकाको  ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।


 
एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ्ग सिस्टमबाट टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईंले जानकारी दिए । 

 

कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको सो क्षेत्रमा निर्माण भएको खानेपानी आयोजना महत्वपूर्ण भएको हुँमागाईंको भनाइ छ । मकवानपुरगढी वडा नं ४ का स्थानीयवासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा सो खानेपानी ट्याङ्कीलगायत पूर्वाधारको  निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिए ।