close

कैलाली र कञ्चनपुरका स्थानीय तहमा आधुनिक सहरी सडक घोषणा गरिए पनि निर्माण सुस्त

कैलाली र कञ्चनपुरका स्थानीय तहमा आधुनिक सहरी सडक घोषणा गरिए पनि निर्माण सुस्त

Trulli
ADVERTISEMENT

कैलाली– कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो ।

 

२ जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीले जनाएको छ । २४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो । काम सुरु भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशत मात्रै रहेको जनाइएको छ ।


कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा ११ अर्ब रुपैयाँ बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको छ । 


आयोजनाका अनुसार धनगढी उपमहानगरमा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ ।

 

धनगढी उपमहानगरमा कालिका कन्ट्रक्सनले सात वटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ लाख रुपैयाँमा काम गरिरहेको छ । सात सडकमध्ये चार सडकमा मात्रै काम सुरु भएको आयोजनाले जनाएको छ । 

 

३ दशमलव ६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा र १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ०.४३ किलोमिटरको मालपोत रोडमा काम सुरु भएकै छैन ।

 

कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्ट्रक्सनले ६ वटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको छ । गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको संघीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रवीन शाहले बताए ।

 

यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाख रुपैयाँमा ४.७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ । झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मका तीन वटै सडकमा काम भइरहेको छ । 

 

भीमदत्त नगरपालिकामा जेडआइइसी लामा कन्ट्रक्सनले ८७ करोड रुपैयाँमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ । तीमध्ये दुई सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–बिपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ छ । 

 

कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीले समयमा काम गर्न नपाएकाले समयमा निर्माणले गति लिन नसकेको उनले बताए । आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण सुरु गरिने इकाइका इञ्जिनियर पुजन न्यौपानेले जानकारी दिए ।

 

सन् २०१५ मा ११ अर्ब रुपैयाँको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा आयोजना लागू भएको थियो ।