close

रसुवाको नागुङगाउँ सडक सञ्जालले जोडियो

रसुवाको नागुङगाउँ सडक सञ्जालले जोडियो

Trulli
ADVERTISEMENT

रसुवा– जिल्ला सदरमुकाम नजिकै रहेपनि भौगोलिक विकट रहेको नागुङगाउँ सडक सञ्जाल जोडिएको छ । लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाइँकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो ।

 

शनिबार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यकर्ता चढेको सरकारी सवारी साधन नागुङगाउँमा पुग्दा स्थानीयवासीले स्वागत गरेका थिए । सो अवसरमा गाउँपालिका प्रमुख तामाङले जनताको चाहना र आवश्यक्तालाई दृष्टिगत गरी कृषि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र सडकका बीच भागमा पर्ने खोलाको पुल एवं नाली निर्माणलगायत कालोपत्र गर्ने काम बाँकी भएकाले थप व्यवस्थापनका लागि आफूले सहयोग गर्दै जाने बताए ।

 


 सदरमुकामबाट तीन घण्टा पैदलयात्रा गर्नुपर्ने नागुङगाउँमा मोटरबाटो निर्माणपश्चात  अब २० मिनेटमा पुगिने जनाइएको छ ।   स्थानीयवासी   छिरिङसाङ्वो तामाङनले नागुङगाउँ सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गरे । 


 
धुञ्चेबाट चार किलोमिटरको छोटो दूरी रहे पनि उकाली, ओराली र भिरपहरा भएका कारण पैदलयात्रासमेत निकै कठिन थियो । गोसाइँकुण्ड गाउँपालिकाको रु ५० लाख अनुदान र स्थानीय बासिन्दाको रु चार लाख बराबर जनश्रमदानबाट निर्माण भएको सो कृषि सडकबाट ५० घर परिवारलाई यातायातको सुविधा पुगेको बताइन्छ । लक्षित कार्ययोजना अनुरूप सो सडकमा गाउँपालिकाले गत वर्षबाटै केही लगानी गरी यस वर्ष पूरा गराएको हो ।

 


दश वर्ष अगाडिबाट निर्माण सुरू भएको प्रयास बल्ल पूरा भएको नागुङवासीले जनाएका छन् ।  सडक निर्माणबाट कृषि उपज बजारमा पुर्‍याउन, विकास निर्माण एवं खाद्यान्न सामग्री ढुवानी गराउन र बिरामी पर्दा एम्बुलेन्स झिकाउन अत्यन्तै सहज समेत भएको उनीहरुले बताएका छन् । अगामी दिनमा सडक मर्मतसम्भारलाई विशेष ध्यान दिइने स्थानीयवासी  ग्यालदोर्जे तामाङले बताए ।