close

लो–घेकर दामोदरकुण्डका सबै वडाका भवन निर्माण

लो–घेकर दामोदरकुण्डका सबै वडाका भवन निर्माण

Trulli
ADVERTISEMENT

मुस्ताङ–  मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ । पाँचवटै वडाका कार्यालय भवन निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको जानकारी दिए । ‘यही मङ्सिर २० र २१ गते पाँचवटै वडा कार्यालयका भवन उद्घाटन गरेर औपचारिक रुपमा प्रयोगमा ल्याएका छौँ’, उनले भने । 

 

वडा नम्बर १ को चराङ, २ को घमी, ३ को घिलिङ, ४ को सुर्खाङ र ५ को ताङग्यामा भवन निर्माण गरिएका छन् । वडा नं १ को भवन जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्यामो गुरुङले र अन्य भवन गाउँपालिका अध्यक्ष विष्टले उद्घाटन गरेका थिए । गाउँपालिका अध्यक्ष विष्टका अनुसार उपभोक्ता समितिमार्फत आर्थिक वर्ष २०७५/७६ मा सुरु भएका वडा कार्यालयका भवन निर्माण यसै आवमा सकिएका हुन् । एकै किसिमको डिजाइन भएका एकतले सबै भवनमा छ÷छ कोठा छन् । 

 

स्थानीय डिजाइन र निर्माण सामग्रीको प्रयोग गरेर मौलिकता झल्कने किसिमको भवन निर्माण गरिएको हो । भवनमा वडा अध्यक्ष, सचिव, सदस्य तथा बैठक कक्ष र सभाहल छन् । एक वडा कार्यालय भवन बनाउन  ५० लाख देखि  ६० लाख खर्च भएको गाउँपालिका अध्यक्ष विष्टले बताए । 

 

प्रतिकूल मौसमका कारण हिउँदमा काम गर्न नसकिने र कोरोना भाइरसको महामारीका कारण भवन निर्माणलाई प्रभावित बनाएको थियो । भवन अभावका कारण सामुदायिक भवन, क्लब, आमा समूह र स्वास्थ्यचौकीबाट कार्यालय सञ्चालन गरिएको थियो । 

 

भवन बनेपछि सेवा प्रवाह र कार्यालय सञ्चालन गर्न सहज भएको चराङका वडा अध्यक्ष टै धुन्टु ठकुरीले बताए । चराङमा निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवनको काम ६० प्रतिशत सकिएको छ । इमोटल कन्ट्रक्सन प्रालिले ४ करोड २४ लाख ५८ हजारमा भवन निर्माण गर्ने ठेक्का लिएको थियो । तीन रोपनी जग्गामा निर्माण भइरहेको तीनतले भवन चालु आवभित्र सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर सन्देश केसीले बताए ।