close

नेपालको पुनर्निर्माणका सिकाइ विश्वका लागि अनुकरणीय : राष्ट्रपति भण्डारी

नेपालको पुनर्निर्माणका सिकाइ विश्वका लागि अनुकरणीय : राष्ट्रपति भण्डारी

Trulli
ADVERTISEMENT

काठमाडौं–१२ वैशाख ०७२ भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदान–प्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । 


कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यको कार्यान्वयनका निम्ति कोसेढुंगा सावित भएको उल्लेख गरिन् । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भइरहेकामा खुसी व्यक्त गरिन् ।

 

राष्ट्रपति भण्डारीले भनिन्, ‘भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव तथा सिकाइ अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुनेछन् भन्ने मलाई लाग्छ । यस सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा लाग्ने जोकसैका लागि महत्त्वपूर्ण ज्ञान भण्डारका रूपमा रहनेछन् ।’ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुनर्निर्माण अभियानमा प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई धन्यवाद दिए । 

 

पुनर्निर्माणबाट निर्णय क्षमता, नयाँ प्रविधि एवं दक्ष जनशक्ति उत्पादन भएको उनले बताए । अर्थमन्त्री शर्माले विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा उच्च राजनीतिक समझदारी तथा मित्रराष्ट्रको सहयोग असाध्यै महत्त्वपूर्ण हुने उल्लेख गर्दै बाँकी रहेका केही कार्य सरकारका नियमित संयन्त्रमार्फत सम्पन्न गरिने जानकारी दिए । 


उद्घाटन कार्यक्रमको अध्यक्षतासमेत गरेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले दातृ निकाय तथा विकास साझेदारको सहयोगले नेपालको पुनर्निर्माण अगाडि बढाउने आत्मविश्वासमा महत्त्वपूर्ण टेवा दिएको बताए ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विकास साझेदारलगायत सबै सरोकारवालाको सहयोगमा पुनर्निर्माण मूलभूत रूपमा सम्पन्न हुने चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा पुनर्निर्माण तथा विपद् व्यवस्थापनका कार्य गर्दा राजनीतिक नेतृत्व दृढ प्रतिबद्धता, सबै पक्षबीच समझदारी, अधिकारसम्पन्न स्वायत्त निकाय, समुदायको परिचालन एवं सबैलाई समेट्ने नीति लिइनुपर्नेमा जोड दिए । 


उद्घाटन कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर, चीनका विदेशमन्त्री वाङ यी, बेलायतको एफसिडीओका मन्त्री लर्ड अहमद, जापानका विदेश मामिलासम्बन्धी संसदीय राज्यमन्त्री होन्डा तारोले रेकर्ड गरिएका सन्देशमार्फत सम्बोधन गरेका थिए ।


त्यसैगरी राष्ट्रसंघको एसिया तथा प्यासिफिक विकास समन्यव कार्यालयका क्षेत्रीय निर्देशक नेइल बुह्ने, एडिबीका उपाध्यक्ष शिसिन चेन, युरोपियन कमिसनर फर क्रासिस म्यानेजमेन्ट जानेज लेनार्सिस, एसडिसीका महानिर्देशक प्याट्रिसिया डाञ्जी र क्यानडाको नेपालसमेत हेर्ने नयाँ दिल्लीस्थित चार्ज डि अफेयर्स अमान्डा स्ट्रोहानका पनि रेकर्ड गरिएका सन्देश प्रस्तुत गरिएको थियो ।

 


त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका प्रमुख फारिस एच. हाडाड जेर्भोस र युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक लार्यिय एड्जेईले कार्यक्रममा सम्बोधन गरे । नेपालस्थित नर्वेकी राजदूत तारुन ड्रामडालले नर्वेको अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइमको सन्देश पढेर सुनाइन् । 


नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, चीनका राजदूत होउ यान्छी, स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापेलरको पनि उपस्थिति थियो । 
उद्घाटन कार्यक्रमलगत्तै सम्मेलनअन्तर्गतका १० वटा विषयगत सत्र सम्पन्न भएका छन् । बिहीबार थप १० वटा सत्र सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा अपराह्न सम्मेलन समापन हुनेछ ।


कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो । सम्मेलनमा सहभागीलाई प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले स्वागत गरेका थिए ।