close

दाङमा सडक तथा पुल निर्माणका लागि करिब १ अर्बको बजेट 

दाङमा सडक तथा पुल निर्माणका लागि करिब १ अर्बको बजेट 

Trulli
ADVERTISEMENT

दाङ– लुम्बिनी प्रदेश सरकारले दाङमा सडक तथा पुल निर्माणका लागि करिब १ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको लुम्बिनी प्रदेश सडक पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । 


जिल्लामा सडक, पुल निर्माण तथा मर्मत सुधार कार्यक्रमका लागि आर्थिक वर्ष ०७८/७९ मा ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालयले बताएको हो ।

 

सडक तथा पुल निर्माणका लागि ९० करोड १७ लाख, संघको ससर्त अनुदानतर्फ पुल निर्माणका लागि २ करोड ४० लाख र सडक पुल मर्मत, सुधार तथा सडक सुरक्षा कार्यक्रमअन्तर्गत ४ करोड ३८ लाख ३० हजार गरी ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ छुट्याइएको प्रदेश पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर तथा सूचना अधिकारी चन्द्रबहादुर शाहले बताए ।


यसैगरी प्रदेश क्षेत्रस्तरीय योजनाअन्तर्गत बखरिया–सरुवाडाँडा– गोल्टाकुरीको १२ किमि सडकका लागि ८ करोड रुपैयाँ विनियोजन भएको छ । उक्त सडक बहुवर्षीय योजनामा रहेकाले कुल १५ करोड रुपैयाँमा सम्झौता भएको छ । 

 

यो वर्ष ८ करोड रुपैयाँको काम हुन लागेको सूचना अधिकारी शाहले बताए । उक्त सडक निर्माणको काम जलजला निर्माण सेवाले गरिरहेको छ । नयाँ र पुराना गरी १२८ वटा र मर्मतका १२२ गरी वटा २५० बढी आयोजना रहेका छन् । प्रदेश स्तरीय योजनामा जिल्लाका प्रमुख सडक मज्गै–अबलडाँडा, सिमलतारा–मूलाबारी–हाँसीपुर–चैते सडक, घोराही–मसिना–मर्पेस–पाखापानी–उजा मन्दिर–स्वर्गद्वारी सडक, झेल्नेटा–फलिदे हुँदै कोलहीदेखि रोकिनेडाँडा, दूधराक्षदेखि भित्रीसक्राम सडक, गरगरियादेखि सुकौरा जोड्ने सडक, हापुरेदेखि गंगटे हुँदै कोहलपुर–श्रीमणि मार्ग विस्तार योजनाका लागि बजेट विनियोजन भएको छ ।
दुर्गम क्षेत्रलाई सुगमसँग जोड्न बबई गाउँपालिका वडा नम्बर १ को विकट क्षेत्रमा २३८ मिटर लम्बाइको बाटुले धोपघाट जोड्ने झोलुंगे पुल निर्माण हुन लागेको छ । 

 

सो पुलका लागि गत वर्ष टेन्डर भई सम्झौता भएको भएको छ । झोलुंगे पुल निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको र सो क्षेत्रको काम न्हु छिरिछ एससी जेवीले गर्न लागेको छ । दुई आर्थिक वर्षमा सक्ने लक्ष्यका साथ काम हुन लागेको सूचना अधिकारी शाहले बताए ।


‘कुल बजेटमध्ये सडक तथा पुल निर्माण कार्यक्रममा मात्रै ९० करोड १७ लाख विनियोजन भएर आएको छ । यसका लागि पुराना योजना र नयाँ योजना पनि समावेश गरी काम अघि बढाएका छौँ’, उनले भने । निर्माणाधीन ८ सडक तथा पुल निर्माण कार्यक्रम, संघको ससर्त अनुदानमा ४ वटा पुलका लागि २ करोड ४० लाख रुपैयाँ विनियोजन भएको उनको भनाइ छ ।

 

प्रदेश सडक पूर्वाधार कार्यालयले सडक मर्मतसम्भार समूहका रूपमा काम अघि बढाउन ६६ जनालाई ९ वटा सडक योजनामा खटाएको सूचना अधिकारी शाहले जानकारी दिए । 


४ वटा पुलअन्तर्गत तुलसीपुरको पातु खोला–टिकरी, घोराहीको कटुवा खोला– सैघा जोड्ने पुल, बबई नदीमा धर्ना– नैनवार पुल मर्मत र चिरागार–थपगाउँ एक्ली खोलाको पुल रहेका छन् । अहिले पनि सर्वेको काम भइरहेकाले नयाँ योजना पाइप लाइनमा रहेको शाहको भनाइ छ । 


कार्यालयले जिल्लाका विभिन्न स्थानमा ४ वटा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । चिराघाट पुल दंगीशरण, नैनवार पुल सौडियार, च्याटी खोला पुल पवननगर पुरन्धारा खोला र गंगापरस्पुर गढवा जोड्ने जनरेल खोला रहेका छन् ।

 

सडकसम्बन्धी योजनामा नयाँ सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, नयाँ सडकको ट्रयाक खोल्ने, सडक विस्तार, ग्राभेलसँगै कतिपय ठाउँमा सडक कालोपत्रे गर्ने योजना रहेको सूचना अधिकारी शाहले बताए । 

 

यसैबीच कुइरपानी–सर्रा बाइपास सडक बिस्तारको काम जग्गा प्राप्तिका कारण रोकिएको छ । कुइरेपानीको मूल सडकमा जोडिने स्थानमा सम्भाव्यता अध्ययनका बेला सडकले सीधै खोलापारि जोड्ने र त्यहाँ पर्याप्त जमिन नभएकाले नयाँ ट्रयाक खोल्दा निजी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले प्राविधिक समस्या भएको सूचना अधिकारी शाहले जानकारी दिए ।

 

उनका अनुसार सुरुको स्थानदेखि २८० मिटरसम्म जग्गा प्राप्ति हुनुपर्नेमा निजी जग्गा प्राप्तिमा जटिलता थपिएकाले कामले गति लिन नसकेको हो । पहिलो चौमासिकको कात्तिक मसान्तसम्म कुल बजेट २ दशमलव ७० प्रतिशत अर्थात् २ करोड ४५ लाख ८६ हजार रुपैयाँ मात्र खर्च भएको छ । ‘दसैँअघि मात्रै बजेट आयो । बजेट कस्तो आउने हो भन्ने अन्योल थियो । त्यसमा भएका काम र योजनाको अलमलले पनि बजेट कार्यान्वयनमा समस्या देखियो’, उनले भने ।

 

अहिले पनि संघतर्फको ससर्त अनुदानमा खर्च हुन सकेको छैन । योजनाको काम अघि बढाउन टेन्डर प्रक्रियामा गएको बताउँदै उनले ४० वटा सूचना प्रकाशित भएको जानकारी दिए ।