close

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

Trulli
ADVERTISEMENT

दमौली– तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ ।  पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।

 

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केबुलकार निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘केबुलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ,’ उनले भने । छिम्केश्वरी माई मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन् थपिने शर्माले विश्वास व्यक्त गरे । 

 

छिम्केश्वरी केबुलकार परियोजनाको लागत रु एक अर्ब १० करोड रहने अनुमान गरिएको छ । परियोजनाले छिम्केश्वरीमा रिसोर्टसमेत निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार ६०० मिटर लामो रहने केबुलकारले दैनिक १० हजार यात्री बोक्ने क्षमता राख्ने अध्यक्ष शर्माले बताए । 

 

केबुलकार निर्माणका लागि पृथ्वीराजमार्गको खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको उनको भनाइ छ । थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपुर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहवरमा खरिद गर्ने तयारी गरिएको छ । एक हजार ८०० मिटर पार गरेपछि खर्कमा केबुलकारको ट्रान्जिट स्टेशन रहनेछ । ‘यस ठाउँमा आकर्षक सांस्कृतिक रिसोर्ट निर्माण गरिनेछ, यो ठाउँ समुन्द्र सतहदेखि एक हजार २०० मिटरको उचाइमा अवस्थित छ,’ उनले भने, ‘यहाँ ३० रोपनी जग्गा खरिद गरिसकिएको छ ।’ हकभोग गरेको थप ६० रोपनी जग्गासमेत गाउँपालिकाको रोहवरमा नियमपूर्वक खरिद गर्ने प्रक्रिया अगाडि बढेको अध्यक्ष शर्माको भनाइ छ । ‘थप ४० रोपनी लालपुर्जा रहेको जग्गा खोजी कार्य गरेका छौँ,’ उनले भने, ‘सरकारसँग थप ५० रोपनी जग्गा लिजमा लिएर १९० रोपनी क्षेत्रफल जग्गामा अत्याधुनिक संस्कृति थिमपार्क रिसोर्ट बनाउने रणनीति छ ।’

 

तीन हजार ६०० मिटर पार गरेपछि माथिल्लो स्टेशनमा पुगिनेछ । त्यस ठाउँमा भने कम्पनीको नाममा जग्गा खरिद नगरिने बताइएको छ । नेपाल सरकारसँग एक सय रोपनी जग्गा लिजमा लिएर धार्मिक गतिविधिको केन्द्र बनाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माले बताए । यसै स्थानमा चर्चित देवी काली माँ छिम्केश्वरीको मन्दिर छ । 

 

केबुलकार निर्माणका लागि सबैखालका अनुमति प्राप्त भइसकेको र डीपीआर बनाउनका लागि सीआरएस इन्डियालाई जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै आईई प्रक्रिया अगाडि बढेको र निर्माण सुरु भएको दुई वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताइएको छ । 

 

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

 

विशेष गरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध, माछापुच्छ्रेलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।  

 

छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा ल्याएको छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरवासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरवास व्यवस्थापन समितिले जनाएको छ । 

 

हिलेखर्कका दुईवटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । त्यस्तै लाब्दी गाउँमा पनि घरवास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ ।