close

सडक सञ्जालमा जोडिए सिन्धुलीका सबै वडा

सडक सञ्जालमा जोडिए सिन्धुलीका सबै वडा

Trulli
ADVERTISEMENT

सिन्धुली–सिन्धुलीका ९ वटै पालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्लाका दुर्गम क्षेत्रमा रहेको तीनपाटन, घ्याङलेख, हरिहरपुरगढी र फिक्कल गाँउपालिकाका सबै वडा सडक सञ्जालले जोडिएको स्थानीय तहले जनाएका छन् । 

 

स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा सडक निर्माणले तीव्रता पाएको छ । ९ वटा स्थानीय तहका ७९ वडामा सडक पुगेको छ । तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगर उक्त पालिकाका सबै ११ वटै वडा सडक सञ्जालले जोडिएको बताउँछन् । ‘सबै वडाको वडा कार्यालयसम्म सडक पु¥याएका छौँ,’ उनले भने, ‘जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि पालिकाको केन्द्र रहेको चकमकेसम्मको ४२ किलोमिटर लामो सडक स्तरोन्नतिसहित धमाधम कालोपत्रे गर्ने काम भइरहेको छ । त्योमध्ये सदरमुकामको बुद्धचोकदेखि ीभमस्थान गैरीसम्म १९ किलोमिटर लम्बाइ सडकमा अहिले पिचको काम भइरहेको छ ।’

 

गैरीदेखि चकमकेसम्मको २३ किलोमिटर लामो सडक कालोपत्रेसहित निर्माणका लागि संघीय सरकार, बागमती प्रदेश र तीनपाटन गाँउपालिकाबीच त्रिपक्षीय सम्झौता भई टेन्डर प्रक्रियामा रहेको उनले बताए ।

 

उनका अनुसार भीमस्थान गैरी–चकमके सडक निर्माणका लागि संघीय सरकारले ७५ प्रतिशत, बागमती प्रदेशले १० प्रतिशत र गाउँपालिकाले १५ प्रतिशत बजेट बेहोर्नेछन् । उक्त सडक निर्माणका लागि डिपिआर तयार भइसकेको र चाँडै टेन्डर निकालेर काम सुरु गरिने उनले जानकारी दिए ।

 

त्यस्तै, दुधौली नगरपालिकाको वडा नम्बर ३ र ६ पनि कालोपत्रेसहितको सडक सञ्जालले जोडिएको छ । एसियाली विकास बैंकको सहयोगमा सिन्धुलीको दुधौली नगरपालिकाअन्तर्गत वडा नम्बर ३ को झुंगा, वडा नम्बर ६ को जगाडीलाई जोड्ने साढे १२ किलोमिटर लामा सडक यो वर्ष कालोपत्रेसहित निर्माण भएको स्थानीय शिक्षक वासु कोइरालाले जानकारी दिए ।

 

उक्त सडक निर्माण गर्ने इम्यानोयल कन्स्ट्रक्सनका प्रमुख छेत्र बम्जनका अनुसार नालाबाहेक सडकको चौडाइ ५ दशमलव २५ मिटर हुने र त्यसमा कालोपत्रेको भाग ४ दशमलब ५० मिटर रहेको छ । उक्त सडकको कुल लागत १७ करोड ४७ लाख ३७ हजार ६९४ रुपैयाँ रहेको इम्यानोयल कन्स्ट्रक्सनले जनाएको छ ।

 

दुधौली नगरपालिका प्रमुख घनश्याम राउत स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुर्‍याएको बताउँछन् । उक्त नगरपालिकाका १४ वटै वडामा सडक पुगेको र मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएको उनको भनाइ छ । 

 

मदन भण्डारी राजमार्गले दुधौली नगरपालिकाको वडा नम्बर १,२, ३, ४, ५, ७, ८, ९ र १० लाई छोएको छ । स्थानीय तहको वडाभित्र स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा कालोपत्रे सडक निर्माण भएका छन् । 

 

वडाका भित्री सडकलाई दिगोपना दिनसमेत धमाधम कालोपत्रे भइरहेको छ । कमलामाई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामहरि ढुंगेल उक्त वडाभित्र अहिले डाँडाटोलदेखि सानागाँउसम्म ४ सय मिटर सडक धमाधम कालोपत्रे भइरहेको बताउँछन् ।

 

कमलामाई नगरपालिका र बागमती प्रदेश सरकारको समपुरक बजेट १ करोड रुपैयाँको लागतमा उक्त काम भइरहेको छ । स्थानीय तह आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उनको भनाइ छ । वडाध्यक्ष ढुंगेलले भने, ‘वडा–वडामा निर्माण भइरहेका सडकका कारण स्थानीय किसानलाई आफ्नो उत्पादन बेचबिखनमा समेत निकै सजिलो भएको छ ।’