तनहुँ– शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा समयमै योजना सम्पन्न गराउनलाई नगरपालिकाले वडा कार्यालयमै पुगेर योजनाको सम्झौता गर्न थालेको हो । पहिलोपटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैंकका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् ।
वडावासीलाई योजना सम्झौता गर्न नगरपालिकाको केन्द्रमै धाउनुपर्ने परिपाटीको अन्त्य गर्न वडा कार्यालयमै पुगेर योजना सम्झौता गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । यसरी वडा कार्यालयबाट योजना सम्झौता हुँदा योजना कार्यन्वयनमा सहज हुने उनले बताए ।
‘नगरपालिकाको कार्यालयबाट नियमित योजना सम्झौता भइरहन्छ । यसपालि नगरपालिकामा वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका बनाएर काम गरिएको छ । पुस्तिकामा कुन योजना कहिलेसम्म सम्पन्न गर्ने भनेर तोकिएको छ । वडामै गएर योजना सम्झौता गर्दा हामीलाई पनि लक्ष्यअनुसार योजना सम्पन्न गर्नलाई सजिलो हुन्छ’, उनले भने । वडावासीलाई नगरपालिकाको केन्द्रमा पुग्नपर्ने झन्झट पनि हट्ने लम्सालले बताए ।
असारे विकासलाई रोक्न वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका तयार पारेर काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । ‘कुन योजना कहिले, कसरी, कहाँ, कसका लागि गर्ने भनेर पुस्तिकामा उल्लेख छ । योजनाबद्ध तरिकाले काम हुन्छ । कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउँछ । पुँजीगत खर्चको गति पनि बढाउँछ । अर्थतन्त्रलाई चलायमान बनाउँछ । तोकिएकै मितिमा काम हुँदा प्रभावकारिता समेत बढ्छ’, उनले भने ।
जनतालाई नगरपालिकाको कार्यालयको शाखामा र बैंकमा भौतारिँदा भोग्ने सास्ती हटाउनलाई वडामै गएर योजना सम्झौता गर्न थालेको उनले बताए । नगरपालिकाको केन्द्र दुलेगौडाबाट टाढा पर्ने वडा नम्बर १, १०, ११ र १२ को वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उनले जानकारी दिए ।
वडा कार्यालयमै योजना सम्झौता गर्न नगरपालिका आएपछि सेवाग्राहीलाई राहत मिलेको छ । शुक्लागण्डकी–१० मा एकैदिन १८ योजना सम्झौता भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार चालु वर्षमा वडाले ३८ योजना सञ्चालन गर्दैछ । यसअगाडि पनि नगरपालिकामा पुगेर सम्झौता भएर केही योजनाको काम सुरु भइसकेको उनले बताए ।