close

इन्द्रावती पालिकाको रणनीतिक सडक शिलान्यास

इन्द्रावती पालिकाको रणनीतिक सडक शिलान्यास

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको रणनीतिक सडकअन्तर्गतको ज्यामीरेमाने नवलपुर–सडकको स्तरोन्नति शिलान्यास भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मंगलबार सडकको शिलान्यास गरे ।

 

शिलान्यास अवसरमा अध्यक्ष तामाङले इन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिए । उनले गाउँपालिकाका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने बताउँदै दिँदै धमाधम काम भइरहेको उल्लेख गरे ।

 

संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा सडक स्तरोन्नति सुरु गरिएको हो । यो सडकको स्तरोन्नति पछि गाउँपालिकाको ७ वटा वडाले प्रत्यक्ष लाभ लिनेछन् । सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावत सहज हुनेछ । सडक स्तरोन्नतिका लागि १० करोड ९ लाख ९ हजार ८५१ रुपैयाँ लागत अनुमान गरिएको छ । 

 

इन्द्रावतीको ५ करोड ९४ लाख ९ हजार ८५१ र संघीय सरकारको समपुरक अनुदान ४ करोड १५ लाख रुपैयाँ रहेको छ । ज्यामीरेमाने–नवलपुर सडक स्तरोन्नतिमा बाटो चौडा गर्ने, प्लम क्रंक्रिटको नाली बनाउने, ढुंगाको सोलिङ, गाभ्रेल, स्टोन मेसिनरी तथा ग्याबिन वाल लगाउने, ह्युमपाइप हाल्ने र बाटो ढलानको काम रहेको छ ।

 

सडक स्तरोन्नतिका लागि घिसिङ/युएन्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेका छ । निर्माणको जिम्मा पाएको कम्पनीले ५ करोड २१ लाख २३ हजार ३५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । 

 

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले पालिकाद्वारा भएका महत्त्वपूर्ण कार्यक्रम र हालसम्म हासिल गरेका मुख्य–मुख्य उपलब्धिमध्ये यो सडक पनि रहेको जानकारी दिए ।