close

जडान नहुँदै भत्कियो बेलीब्रिज 

जडान नहुँदै भत्कियो बेलीब्रिज 

Trulli
ADVERTISEMENT

जुम्ला–हुम्ला लिंक रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण अन्तिम चरणमा पुगेको बेलीब्रिज भत्किएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर १, ३ र १३ वडा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौरमा निर्माणको अन्तिम चरणमा पुगेको बेलीब्रिज जडान गर्ने क्रममा शुक्रबार राती भत्किएको हो । 

 

छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गत वर्ष ५ चैतमा सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म सम्पन्न हुने बेलीब्रिज भत्किएपछि निर्माण अझै पछि धकेलिएको छ । 

 

बेलीब्रिज भत्किँदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए । बेलीब्रिज बनाउन जलव रविचक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँँग सम्झौता गरेको थियो ।

 

भत्किएको बेलीब्रिज जडान गर्न एक सातादेखि १२ दिनसम्म लाग्ने मल्लको भनाइ छ । बेलीब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्केको बेलीब्रिजलाई ठड्याउन २ वटा मेसिन लगाइएको छ । पुलको बीच भाग बांगिएर कामै नलाग्ने भएको छ । सो स्थानमा अरू नयाँ भौतिक संरचना जडान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

 

नगरपालिकालाई हस्तान्तरण गर्ने अवस्थामा रहेको पुल एक्कासि भत्किँदा हस्तान्तरणमा ढिलाइ हुने उनले बताए । ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँ लागतमा बनिरहेको बेलीब्रिजको लम्बाइ ५५ मिटर छ ।

 

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप ३) ले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जनसहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो ।

 

मुगु कणालीमाथि बेलीब्रिज निर्माण भए केही बस्तीका साथै हुम्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमकोट गाउँपालिकामा सडक पुग्ने अवस्था थियो । तर, जडान कार्यमै पुल भत्किएपछि थप समय लाग्नेछ ।