close

कैलालीमा लाखौँ रकम खर्चिएर जडान गरिएका ट्युबवेल प्रयोगविहीन

कैलालीमा लाखौँ रकम खर्चिएर जडान गरिएका ट्युबवेल प्रयोगविहीन

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीमा लाखौँ रकम खर्चिएर जडान गरिएका स्यालो ट्युबवेल (पावर डिल) प्रयोगविहीन भएका छन् । भूमिगत जलस्रोत विकास समिति नेपालगन्ज शाखाले गोदावरी नगरपालिकाभित्र १० वटा ट्युबवेल जडान गरे पनि ८ वटा प्रयोगमा आउन नसकेका हुन् ।नगरपालिकाको वडा नम्बर १ मा १, वडा नम्बर २ मा ४ र वडा नम्बर ४ मा ५ वटा ट्युबवेल गत वर्ष जडान गरे पनि २ वटा मात्रै सञ्चालनमा छन् ।


वडा नम्बर ४ मा जडान गरिएको ट्युबवेलबाहेक ४ वटा प्रयोगमा आउन नसकेको ट्युबवेल जडान उपभोक्ता समिति अध्यक्ष यज्ञराज जोशीले बताए । वडामा जडान भएका २ ट्युबवेलमा पानी आउन छाडेको र २ वटा सञ्चालनै नभएको उनको भनाइ छ ।

 

उक्त वडामा जडान भएको एउटा ट्युबवेल भने नियमित सञ्चालनमा रहेको छ । त्यस्तै, वडा नम्बर २ तेघरीमा जडान भएका ४ वटै ट्युबवेलमा हालसम्म विद्युत्समेत जडान हुन सकेको छैन । उपभोक्ता समितिका कोषाध्यक्ष दिनेश भट्टले तेघरका ट्युबवेल केही दिनभित्रै सञ्चालनमा ल्याइने बताए ।


४ बिघा क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यले गत वर्षको चैतमा ट्युबवेल जडान गरिएका थिए । भूमिगत जलस्रोत विकास समिति शाखा धनगढीका जीवराज पण्डितले एक ट्युबवेल जडान गर्न ५ लाख रुपैयाँ खर्च लागेको जानकारी दिए ।

 

ट्युबवेल कार्यालयबाट जडान गरिए पनि विद्युत् जडान गर्ने, विद्युत् घर निर्माणको जिम्मा स्थानीय उपभोक्तालाई दिइएको बताए ।कार्यालयबाट ट्युबवेल जडान गरिएकाले सञ्चालनमा ल्याउन नसक्नु उपभोक्ता समितिकै कमजोरी भएको उनको दाबी छ । उनले भने, ‘यसलाई सञ्चालन ल्याउने जिम्मेबारी उपभोक्ता समितिको हो । तर, के कारणले सञ्चालनमा आएनन्, बुझ्दै छौँ । कुनै प्राविधिक त्रुटि भएको भए सुधार गर्छौं ।’


ट्युबवेल कैलालीको चण्डिका मेसिनरीले जडान गरेको थियो । चण्डिका मेसिनरीका सञ्चालक दिनेश भट्टले ट्युबवेल जडान गरेपछि एक वर्षसम्म मर्मत जिम्मा लिए पनि हालसम्म कुनै ठाउँबाट गुनासो नआएको दाबी गरे । कुनै समस्या भए मर्मत गर्न तयार रहेको उनले बताए ।
१ सय फुट गहिराइमा हालिएका उक्त ट्युबवेलमा ३ इन्च पाइप जडान गरिएको छ । जडान गर्ने कार्यालयको उदासिनता र उपभोक्ताको लापरवाहीले ट्युबवेल प्रयोगमा नआउँदा राज्यको लाखौँ रकम खेर गइरहेको छ ।


वडा नम्बर ४ की जानकी जोशीले आफ्नो खेतमा जडान गरेको ट्युबवेलबाट सुरुदेखि नै पानी नआएको बताइन् । ‘साझा ट्युबवेल भए पनि सुविधा होला भनेर ट्युबवेल गाड्न जग्गा दिएकी थिएँ,’ उनले भनिन्, ‘१ वर्ष भयो पानी आएको छैन ।’ उनले ट्युबवेलका लागि घर–घरबाट पैसा उठाइए पनि काम नगरेको बताइन् ।