close

काभ्रेका तीन नगरमा खानेपानी वितरणको तयारी

काभ्रेका तीन नगरमा खानेपानी वितरणको तयारी

Trulli
ADVERTISEMENT

काभ्रे– एघार वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ । केही महिनामै खानेपानीको समस्याबाट गुज्रिएका जिल्लाको तीन नगर धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका हुन् । 

 

तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायत भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए । 

 

कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षण स्वरुप हाल पनौतीको शारदा देवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ । उनले भने, ‘मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँचको काम बाँकी छ, धमाधम घरमा धारा जडानको प्रक्रिया थालिएको छ ।’ उनका अनुसार आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन)को काम भइरहेको छ । 

 

तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ । आयोजनाअनुसार क्षति पुर्‍याएका नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका एक हजार ११४ इन्टर कनेक्शन गर्नुपर्नेमा हाल सात सयको हाराहारिमा इन्टर कनेक्शन भैसेकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । 

 

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्कले केही महिनाभित्र काम सकाउने जनाएको छ । आयोजना सम्पन्न भएपछि सन् २०२४ सालसम्मको लागि तीन नपाका करिव ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’ को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । ‘अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो’, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो । सम्पूर्ण परीक्षण सकेमा चैत मसान्तसम्ममा खानेपानी वितरण हुनसक्ने उनले बताए । 

 

 यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याट बाहेक रु ९९ करोड आठ लाख सात हजार ८२१ रहेको छ । आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली  विकास  बैंकवाट  अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषवाट ऋण विसं २०६९ असारमा लिइएको छ । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ । वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनवटै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।