close

काठमाडौं महानगरले मेलम्चीको भोटेचौर पर्यटन पूर्वाधार बनाइदिने 

काठमाडौं महानगरले मेलम्चीको भोटेचौर पर्यटन पूर्वाधार बनाइदिने 

Trulli
ADVERTISEMENT

काठमाडौं–मेलम्ची नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत १ असारमा आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची वडा नम्बर १ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति दिएको हो ।

 

महानगरले आर्थिक वर्ष ०७७/७८ को स्वीकृत बजेटको नगर साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणमा सहयोग गरेको थियो । उद्यान निर्माण गर्न सम्झौता गरेको १ करोड ५० लाख रुपैयाँ अनुदान मेलम्ची वडा नम्बर १ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बताए ।

 

मेलम्ची बाढीले प्राविधिक रूपमा सम्झौताअनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्चीको आग्रहअनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति दिइएको उनले जानकारी दिए । १६ करोड रुपैयाँ अनुमानित लागतमा पर्यटकीय स्थल भोटेचौरमा विभिन्न स्थानमा उद्यान, खाल्टे–ठूलो ढुंगा तथा केदार मन्दिरबाट पातल गुफा पैदलमार्ग, सवारी पार्क, ठाउँ–ठाउँमा बुद्ध, शिवमूर्ति राखिने, तपचुली डाँडा सिँढी तथा भ्यूटावरलगायत चिया बगानमा उद्यान पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापनलगायत काम हुने मेलम्ची नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्ण चौलागाईंले बताए ।

 

मेलम्चीको निवेदनअनुसार महानगरले निर्णय गरी भोटेचौर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रस्तावित ‘डिजाइन स्पेसिफिकेसन’ र लागतअनुसार निर्माणमा खर्च गर्न सहमति प्रदान गरेको हो । ती दुई स्थानीय तहबीच ०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको थियो ।