close

करोडौँ बजेट खर्च : सुधारिएन गोठीज्यूला– कालाकाँध सडक

करोडौँ बजेट खर्च : सुधारिएन गोठीज्यूला– कालाकाँध सडक

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला बजार हँुदै मुगुको खत्याड गाउँपालिका जोड्ने कालाकाँध सडक करोडौँ बजेट खर्चिए पनि सुधार हुन सकेको छैन । यो सडकमा अहिलेसम्म झन्डै १० पटक बजेट विनियोजन भएको छ । न सडकको स्तरोन्नति भएको छ, न त बजेटको कुनै हिसाबकिताबै देखिन्छ ।

 


सडक उपभोक्ता समिति र ठेकेदार कम्पनीको कमाइ खाने धन्दा बनेको स्थानीयको गुनासो छ । गोठीज्यूला हुँदै कालाकाँध सडकमा तत्कालीन विराट गाविसबाट १९ लाख रुपैयाँ दिइएको थियो, जुन सुरुआती चरणको बजेट हो । तत्कालीन जिल्ला विकास समिति जुम्लाबाट १७ लाख, जिविस मुगुबाट २२ लाख रुपैयाँ सडकमा खर्च भएको छ ।


त्यस्तै, खत्याड गाउँपालिका मुगुबाट ७ लाख, कनकासुन्दरी गाउँपालिका जुम्लाबाट पहिलो पटक १५ लाख, दोस्रो पटक १० लाख, तेस्रो पटक ७ लाख, चौथो पटक १० लाख र पूर्वाधार विकास कार्यालय जुम्लाबाट १ करोड रुपैयाँ खर्च भएको छ । खत्याड गाउँपालिका मुगुले ७ सय मिटर सडक ग्राभेल गरेको छ । अहिलेसम्म करोडौँ रकम सडक स्तरोन्नतिका लागि खर्च भएको छ । तर, सडकको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।

 


कनकासुन्दरी गाउँपालिका वडन नम्बर ३ का एक स्थानीयले भने, ‘सडक स्तरोन्नतिका लागि आएको बजेटले सडक बनेन । ठेकेदार र उपभोक्ता समिति बने । यसको हिसाबकिताब कसले गर्ने ?’ गोठीज्यूलादेखि कालाकाँध सडक जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको खत्याड जोड्ने सडक हो ।


यो सडक खण्डको झन्डै ७ किलोमिटर स्तरोन्नतिका लागि गाउँपालिकाले पटक– पटक गरेर ४२ लाख रुपैयाँ खर्च गरिसकेको उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् । ‘सडकको नाला खन्ने, ग्राभेल गर्ने, ह्युमपाइप हाल्ने र साँघुरो भएको सडक फराकिलो बनाउने, पहिरो जाने सम्भावित ठाउँमा ग्याविन हाल्ने र खाल्डाखुल्डी भरेर सवारीसाधन चल्न सक्ने बनाउने गरी बजेट हालिएको थियो,’ उपाध्यक्ष भण्डारीले भनिन्, ‘अहिले सहजै मालवाहक तथा यात्रुवाहक सवारी चल्न सक्ने अवस्था छैन । न खाल्डा पुरिएका छन्, न ग्याबिन हालिएको छ, न त सडक फराकिलो नै भएको छ ।’ 


मुगुको खत्याड गाउँपालिकाका लागि व्यापार र विकास मार्गको रूपमा गोठीज्यूला–कालाकाँध सडकलाई लिइएको छ । मुगुको खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाही बजेटअनुसारको सडक बन्न नसकेको बताउँछन् । उनले भने, ‘यो सडक स्तरोन्नतिका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ दिएको छ । अहिले व्यापारिक तथा विकास निर्माणका सामग्री सबै गोठीज्यूलामै रोकिएका छन् ।’ यो सडक बन्द भएको झन्डै पाँच महिना बित्न लागिसकेको छ । खुलाउने पहल कतैबाट हुन सकेन ।’


गोठीज्यूलादेखि कालाकाँध सडकमा पटक पटक बजेट हालियो । तर, नियमित सवारी चल्ने सडक बन्न सकेको छैन । उपभोक्ता समिति र ठेकेदारले सडकमा डोजर देखाउने, सडक खनेजस्तो गर्ने, सामान्य माटो पन्छाउने गर्छन् । यसले डोजर मालिक र ठेकेदार कम्पनी मोटाउने र जनस्तरमा कुनै फेरबदल नदेखिएको बुढुगाउँबासी बताउँछन् ।


उनीहरूले यो सडकमा आएको विकास बजेटको हिसाबकिताब देखाउन मागसमेत गरेका छन । ‘१० पटकसम्म खन्ने काम भयो तर सडक बनेन । जग्गा बिग्रियो’, एक स्थानीयले भने, ‘तत्काल सडक स्तरोन्नति गरेर जनजीवन सहज बनाउन पहल गर्नुपर्छ ।’

 

करोडौँ सरकारी बजेट खर्च भए पनि सडकमा गाडी नगुडेको उनी बताउँछन् । मापदण्डअनुसारको सडक नखन्दा पनि ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई कारबाही नगरिनु लाजमर्दो भएको उनको भनाइ छ । गोठीज्यूला–कालाकाँध सडक लेकाली क्षेत्रमा भएकाले चिसोेमा हिउँ जम्छ । वर्षायाममा हिलोले चल्न सक्ने अवस्था हुँदैन ।