close

हेटौँडामा आधुनिक कृषि थोक बजार निर्माण हुँदै

हेटौँडामा आधुनिक कृषि थोक बजार निर्माण हुँदै

Trulli
ADVERTISEMENT

हेटौँडा–वाग्मती प्रदेशको राजधानी हेटौँडाको अस्तव्यस्त कृषि बजारलाई व्यवस्थित बनाउन तथा किसानलाई प्रत्यक्ष लाभ उपलब्ध गराउन कृषि थोक बजार निर्माणले गति लिएको छ । सरकारले कृषि उपजको उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधासहित निर्माण गरिरहेको कृषि थोक बजारको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 

 

आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली किसानको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको कृषिउपजको बजारीकरणको समस्या समाधान गर्न भन्दै तिनै तहको सरकारको पहलमा कृषि थोक बजार केन्द्र निर्माण प्रारम्भ भएको थियो । केन्द्र सरकारको समेत लगानी हुने र करिब रु ७० करोड लगानी गर्ने भनेर विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको भए पनि तत्काललाई केन्द्र सरकारले लगानी नगरेपछि लगानी घटाएर प्रदेश र स्थानीय सरकारले निर्माणलाई निरन्तरता दिएका छन् । 

 

हेटौँडा उपमहानगरपालिकाको समेत सहलगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार केन्द्र निर्माण कार्यले पछिल्लो समयमा गति लिएको प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । झण्डै रु साढे २८ करोड लागतमा निर्माणाधीन कृषि थोक बजार आगामी २०८१ सालभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने मन्त्रालयले विश्वास लिएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडा र उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । विसं २०८१ सम्ममा भवनलगायतका संरचना निर्माण सम्पन्न गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ । 

 

आधुनिक संरचनासहितको कृषि बजार निर्माण सुरु भएपछि मकवानपुर तथा आसपासका किसान लाभान्वित हुने अपेक्षासहित खुसी भएका छन् । कृषि थोक बजार निर्माणको काम सम्पन्न गराउन उपमहानगर पनि लागिपरेको छ । उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो सम्पन्न गर्न आफ्नातर्फबाट पहल गरिरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए। 

 

प्रदेश सरकारसँग सहकार्य गरेर भवन निर्माणको काम भइरहेको र यो उपमहानगरका लागि गौरवको योजना रहेको प्रमुख महतले बताए । स्थायीरुपमा तरकारी तथा फलफूलका लागि थोक बजार निर्माण नहुँदा निकै समस्या व्यहोर्नु परेको उपमहानगरपालिकालाई अब भने निकै सहज हुने उनको भनाइ थियो । 

 

कूल रु २८ करोड ३६ लाख ५५ हजार लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे बताए । कृषि थोक बजारको काम समयमा नै सक्नेमा आफू विस्वस्त रहेको उनले बताए । प्रदेश सरकारको ठूलो लक्ष्य र योजनासहित कृषि थोक बजारको निर्माण भइरहेकोे उनको भनाइ छ । राजमार्गसँगै जोडिएको यस बजारका कारण देशभरिबाट तरकारी तथा फलफूल ल्याउन र अन्यत्र लैजानका लागि सहज हुने उनले बताए । 

 

चालिस कट्ठा चार धुर जग्गामा निर्माण गर्न लागिएको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । यहाँ प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र विदेशमा समेत पठाउन सकिने व्यवस्था गरिने तयारी छ । शीत भण्डारसहित कृषि सुपरमार्केट निर्माण हुँदा किसानसहित सबैलाई फाइदा हुने प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक रवीन्द्रबहादुर प्रधान बताउँछन् ।

 

कृषि थोक बजार सञ्चालन भएपछि कृषि बजारमा उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतको सुविधाको अपर्याप्तता र अभावको अन्त्य हुने प्रधानले बताए । निर्माण भएपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिने थोक बजारबाट कृषकले उचित मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय कृषिउपज पाउने पनि दाबी गरिएको छ । बजार आधुनिक तथा हरेक सुविधा सम्पन्न हुने र किसान मैत्री हुने जनाइएको छ ।