close

सहरी पूर्वाधार विकासका लागि महालक्ष्मीलाई ५० करोड बजेट

सहरी पूर्वाधार विकासका लागि महालक्ष्मीलाई ५० करोड बजेट

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयले ५० करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन सहरी विकास कार्यक्रमअन्तर्गत बजेट उपलब्ध गराउने सहमति जुटेको हो ।

 


लामो समयको पहलपछि महालक्ष्मीको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयबाट ५० करोड रुपैयाँ बजेट प्राप्त भएको नगरप्रमुख नेपालले बताए । ‘हामीले नगरसभाबाट पारित गरेर बजेट माग गरेका थियौँ । बजेट माग्न पटक–पटक मन्त्रालय धाएँ । अब ठूलो बजेट प्राप्त हुनेछ,’ नगरप्रमुख नेपालले भने, ‘यसले महालक्ष्मीको सहरी पूर्वाधार विकासमा ठूलो काम हुनेछ ।’

 


बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै नगरप्रमुख नेपालले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद दिए । गुल्मी माइतीघर भएकी मन्त्री झाँक्री महालक्ष्मीकी बुहारी पनि हुन् । उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाँधिएकी छन् । बजेटका लागि पहल गर्न सहयोग गरेको भन्दै नगरप्रमुख नेपालले सामाजिक सञ्जालमै स्टाटस लेखेर धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, मन्त्री झाँक्रीका अभिभावक प्रेमराज पुरी, श्रीमान् पशुपति पुरी र युवराज गिरीप्रति आभार प्रकट गरेका छन् ।

 


सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने पत्र पठाएपछि धनकुटास्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले बजेट खर्चका लागि प्रारम्भिक चरणको तयारी थालेको छ । महालक्ष्मी नगर प्रमुखसहित प्रतिनिधिसँग केही दिनभित्रै छलफल कार्यक्रम राखेर योजना निर्माण गरिने आयोजना प्रमुख रञ्जनकुमार दासले बताए । ‘माथिबाट हामीलाई एक साताअघि नै पत्र आएको छ । अब नगरपालिकासँग छलफल गरेर प्रारम्भिक चरणको काम थाल्छौँ,’ आयोजना प्रमुख दासले भने ।


यो बजेट मुख्यगरी सडक निर्माण तथा स्तरोन्नति, भवन निर्माण, हाट बजारको संरचना निर्माणजस्ता काममा खर्च गरिने बताइएको छ । तर, कुन–कुन क्षेत्रमा के–कति खर्च गर्ने, के–कस्तो योजना निर्माण गर्ने भन्ने विषय छलफलबाट टुंगो लगाइनेछ । पहिलो चरणमा नगरपालिका र स्थानीयसँग योजनाबारे जानकारी लिएपछि त्यसको सर्भे गरेर रिपोर्ट पठाइने आयोजना प्रमुख दासले जानकारी दिए ।