close

माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण धमाधम

माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण धमाधम

Trulli
ADVERTISEMENT

काठमाडौं–जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माणले गति लिएको छ । 

 

कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज ०८० भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको हो । 

 

नयाँ वर्ष मनाउन माघ ०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९का कारण फर्कन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्प थियो । आयोजना निर्माण ०७७ चैतबाट मात्र पुनः सुचारु भएकामा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारण लगभग तीन साता काम पुनः प्रभावित भएको थियो । 

 

साथै, मुख्य सुरुङमा पूर्र्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ सुइफा एएनएचई ग्रुप कम्पनीले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत्गृहलगायत मुख्य संरचना निर्माण गरिरहेको छ । 
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले ३८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये २८६५ मिटर खनिएको बताए ।

 

‘सतही विद्युत्गृह खन्ने कार्य सम्पन्न भई संरचनाको कंक्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्स जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ,’ गौतमले भने, ‘चीनसँगका भन्सार नाका अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माण स्थलसम्म ल्याउन सकिरहेको थिएन । केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएका छौँ ।’

 

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडलमा आयोजना निर्माणका लागि सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ ०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।

 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । 

 

सेयरबापतको बाँकी रकम छिट्टै संकलन 

 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निष्कासन गरेको सेयरबापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरी प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

 

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । 

 

‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि छिट्टै आह्वान गरिनेछ । साथै, सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि निष्कासन प्रक्रिया अघि बढाइनेछ’, प्रबन्ध–सञ्चालक गौतमले भने । 

 

आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

 

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजना निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ । 
आयोजनाबाट सुक्खायाम १६ मंसिरदेखि १५ जेठसम्म १३ करोड ४८ लाख ८० हजार र वर्षायाम १६ जेठदेखि १५ मंसिरसम्म १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।