close

सरकारी निकाय धाउँदा धाउँदै थाकेका खतिवडा अझै पनि भन्दैछन् : फोहोर दिनुस् नि:शुल्क व्यवस्थापन गर्छौँ

सरकारी निकाय धाउँदा धाउँदै थाकेका खतिवडा अझै पनि भन्दैछन् : फोहोर दिनुस् नि:शुल्क व्यवस्थापन गर्छौँ

Trulli
कृष्ण खतिवडा, फोहर व्यवस्थापन गर्ने यामातो मेसिन देखाउँदै
ADVERTISEMENT

काठमाडौँ । ५४ वर्षीय कृष्ण खतिवडा अहिले फोहोर व्यवस्थापनका लागि मेसिन निर्माण गर्न व्यस्त छन्। जापानी वैज्ञानिकसँग मिलेर उनको कारखानामा बनाइएको यामातो अल्टनेटिभ रिनुएवल इनर्जी फर्म वेस्ट मेसिनले  नाम अनुसार फोहोरबाट नवीकरणीय उर्जाको उत्पादन गर्छ।

लामो अनुसन्धान गर्दै विकास गरिएको यो मेसिनले फोहोरबाट डिजेलको सट्टा प्रयोग हुन सक्ने सिन ग्यास (सेन्थेसिस ग्यास- हाइड्रोजन, कार्बन मोनोअक्साइड र केही कार्बन डाइअक्साइडको मिश्रण भएको इन्धन ग्यास), प्राङ्गारिक मल, क्लिङ्कर र ब्रिकेट कोइलाको उत्पादन गर्छ।

उनले २०४८ सालदेखि नै हेटौँडाको औद्योगिक क्षेत्रमा अण्डाको क्रेट उद्योग संचालन गरेका थिए। त्यसो त मेसिनरी पार्ट्स बनाउन उनमा पहिले देखिनै लगन देखिन्थ्यो। उनी भन्छन् – “२०५२ सालदेखि मेसिनरी पार्ट्स बनाउने गरेको थिएँ। त्यो बेलादेखि नै हेटौँडाको अन्य उद्योगहरूका लागि विभिन्न  मेसिनरी पार्ट्स निर्माण गरेर बेच्ने काम गरेको थिएँ।”

हेटौँडा औद्योगिक क्षेत्रमा क्रिष्टल पाइप भन्ने उद्योग चलाएको पनि उनी सम्झन्छन् ।

खतिवडाको धर्मपत्नी गम्भीर रोगबाट पीडित भइन्। पत्नीको उपचार नेपालमा सम्भव नभएपछि २०५६ सालमा खतिवडा दम्पती बेल्जियम पुगे। उपचार गरेर नेपाल फर्कने उद्देश्यले गए पनि उपचारको क्रममा उतै बस्नु पर्ने भयो। अहिले पनि ६- ६ महिनामा उतै फलोअपमा जानुपर्छ। सन् २००७ बेल्जियममा नै जापानी स्टोर समेत सुरु गरे। जापानी उपभोक्तालाई लक्षित गरेर खोलिएको स्टोर नै उनको लागि टर्निङ प्वाइन्ट बन्यो। जापानीहरूसँग सङ्गत गर्ने अवसर पनि जुर्‍यो नै। त्यसबाट जापानीहरूसँग राम्रो सम्बन्ध गाँसियो। उनी भन्छन्- 'म त कमर्सको विद्यार्थी हुँ तर पनि मलाई यो क्षेत्रमा धेरै लगाव छ । धेरै जनासँग यो विषयमा छलफल भयो तर जापानीहरू यसमा उत्सुक र कामलाई पूर्णता दिनसक्ने पाइयो। २०१५ देखि यो प्रोजेक्टमा हिँडे।' यही विषय नपढे पनि धेरै खोज अनुसन्धानमा सहभागी भएको उनले सुनाए।

प्लाष्टिकको व्यवस्थापन नगरी वातावरण नजोगिने निष्कर्ष निकालेर त्यसमा हामीले के गर्नुपर्छ भन्ने धेरै जापानी वैज्ञानिकहरूसँग छलफल भएपछि यो प्रविधि विकास गरिएको उनको अनुभव छ।

“यसको लागि धेरै सूचनाहरू संकलन गरियो। सेमिनारहरूमा भाग लिइयो। धेरै कार्यक्रमहरूमा सहभागी भइयो।” उनी भन्दै थिए- ”पछि हामीले “रिसर्च एन्ड डिभलपमेन्ट” लाई व्यापक रूपमा अगाडि बढायौँ। पहिलो इन्डोनेसिया, भारतको गान्धीनगरमा पनि “रिसर्च एन्ड डिभलपमेन्ट”का विभिन्न चरणका काम गरियो।”

सुरुमा एउटा मेसिन जापानमा निर्माण गरियो। त्यो मेसिन जापानी वैज्ञानिकले निर्माण गरे। उनीसँगै बसेर धेरै काम गरियो। त्यसपछि फिलिपिन्समा सञ्चालन गरिएको थियो। त्यसको  अपडेट भर्सन मकवानपुरको मनहरी गाउँपालिकाको खरंगामा ५२ कठ्ठा क्षेत्रफलमा चलाएको उनले जानकारी दिए। अहिले त्यही प्लान्ट हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा जम्मा ७ कठ्ठामा मात्र चलाइएको छ। यो ठाउँमा सारेको केही समय मात्र भयो।

फोहर व्यवस्थापन गर्ने यामातो मेसिन

नेपाल सरकारको कस्तो सहयोग रह्यो त भन्ने प्रश्नमा 'सरकारबाट सहयोग त परै जाओस् प्रोत्साहन समेत पाइएन,' उनी दुखेसो पोख्छन् । सरकारले विदेश पठाउन नमिल्ने क्याटगोरीमा मेसिनरी पार्ट्स पनि राखिएको रहेछ। सरकारका विभिन्न तहमा कुराकानी भए पनि यसको बारेमा निष्कर्ष ननिक्लिएको उनले बताए। नेपालका तीनै तहका सरकारसँग छलफल भए धेरै प्रिजेन्टेसन पनि भए कुरा सकारात्मक भए तर कामचाहिँ सकारात्मक नभएपछि अहिले आफूले भन्न छोडेको उनले दुखेसो व्यक्त गरे ।

जापानी साझेदारहरूसँग सल्लाह गरेपछि अब नेपालमा अनुसन्धान र विकास मात्र गर्ने बाँकी काम जापानमा नै गर्ने र आवश्यक पार्ट्सहरू भारतमा बनाउने योजना अगाडि सरिएको छ।

कोभिडका कारण थोरै मात्र मेसिन बनाइएको उनले बताए । यो अवधिमा ४ वटा मात्र मेसिन बनाएको छ। प्रविधिको विकास गरिएकाले इन्डोनेसिया, फिलिपिन्स, हेटौँडामा मेसिन निर्माण भएका छन्। यसको अत्याधुनिक अपग्रेड भर्सन जापानमा रहेको उनले सुनाए।

हाल चिन, इटाली, जर्मनी र भारतबाट सामग्री ल्याउने गरिएको र जापानबाटै तालिम गराएको कामदारहरूले काम गरिरहेका छन्।

त्यसो त अहिले बैंकले लगानी गर्न रोकेकाले उद्योग क्षेत्रमा असर परेको उनको बुझाइ छ। कुनै क्षेत्रबाट पनि सहयोग भएन। काठमाडौँदेखि नेपालको हरेक क्षेत्रमा समस्या छ तर यसमा ठोस रूपमा यसबारे कसैले चासो नदेखाएको पनि उनको आरोप छ।

“अहिले पनि जापानले सहयोग गर्छ,  सहरी विकास मन्त्रालयले चिठी लेख्या छ परराष्ट्र मन्त्रालय हुँदै राजदूतावास मार्फत जापान पुग्नुपर्ने अहिलेसम्म पुगेको छैन १० महिना भयो, अनि कसरी काम अगाडि बढ्छ?”, उनको प्रश्न छ। नेपालका मुख्य सहरहरूमा नि:शुल्क दिने भन्ने थियो तर चिठी नपुग्दा रोकिएको उनले बताए । एउटा मेसिन निर्माणका लागि ३ महिना लाग्ने गर्छ।

यो मेसिन प्रयोगमा ल्याउने हो भने काठमाडौँ उपत्यकाको फोहोरको समस्या समाधान हुने उनको दाबी छ। यो भन्दा पहिला काठमाडौँका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले पनि यस विषयमा चासो देखाएका थिए। उनले यो मेसिन राख्न निकै कोसिस गरेपनि विभिन्न जञ्जालका कारण काम अगाडि बढ्न सकेन। कसैले किन्न खोजे यो मेसिनलाई हाल २ करोड पर्ने खतिवडाको भनाइ छ।

स्थानीय तहले फोहोर व्यवस्थापनको जिम्मा दिएमा मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ। फोहोर व्यवस्थापन गर्दा सिन ग्यास, प्राङ्गारिक मल, क्लिङ्कर तथा ब्रिकेट कोइला निस्कने भएका कारण पनि नि:शुल्क फोहोर व्यवस्थापन गर्न सहज हुने उनले बताए।

मेसिनले फोहोरबाट शुद्ध हावा मात्र वायुमण्डलमा छोड्छ।  मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ देखि १ मेगावाटसम्म विद्युत् उत्पादन हुने गरी सिन ग्यास उत्पादन हुने खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार कुहिने फोहोरबाट कोइला तथा प्राङ्गारिक मल बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ। मेसिनभित्र जडान भएका सिस्टमले उचित तापक्रम मिलाएर फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै हुने दाबी उनको छ।

”प्लाष्टिकजन्य फोहोरलाई जलाउने प्रविधि प्रयोग गरेर नष्ट गरेको पनि देखेका छौँ तर यो वातावरण मैत्री छैन तर हामीले रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री छ।”

नेपालमा फोहोर व्यवस्थापनको चुनौती दिन दिनै बढेको बताउँदै खतिवडाले भन्छन्- ”फोहोरसँगै स्थान र सुरक्षाको ग्यारेन्टी दिनुस्, हामी नि:शुल्क फोहोर व्यवस्थापन गर्छौँ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार