close

अनियमितताको पराकाष्ठा : चार महिनामै भासियो पुल

अनियमितताको पराकाष्ठा : चार महिनामै भासियो पुल

Trulli
ADVERTISEMENT

धनगढी । कैलालीको दुर्गम पहाडी मोहन्याल गाउँपालिका–७ स्थित बाँका खोलामा निर्माण सम्पन्न २०.६ मिटर लामो मोटरेबल पुल चार महिना नबित्दै भाँसिएको छ । 

पूर्वाधार विकास कार्यालय कैलालीको भ्याटबाहेक १ करोड ७९ लाख ३८ हजार १ सय ७१ रुपैयाँ ८७ पैसामा निर्माण सम्पन्न बाँका खोलाको पुल चार महिना बित्न नपाउँदै भत्किएको हो ।

निर्माण कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरेर मोटरेबल पुल निर्माण गर्दा भाँसिएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार असारको दोस्रो साता परेको वर्षाका कारण उक्त पुल भाँसिएको हो । 

पुल भाँसिदा मोहन्यालका जनता डराउँदै यात्रा गर्न बाध्य भएका छन् ।

पुल निर्माण सम्पन्न भएको चार महिना बित्न नपाउँदै भाँसिएको बताउँदै स्थानीय लीला माझीले कर्मचारीको मिलेमतोमा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम गरेको बताए । 

‘प्राविधिक स्टमेटअनुसारको काम नहुँदा पुल त भाँसिने र भत्किने जोखिम भयो । तर, पुलमा यात्रा गर्दा हाम्रो पनि ज्यान जोखिममा छ,’ उनले भने ।

कुनै पनि विकासको निर्माणको कार्य गर्दा दीगो विकासको अवधारणा अवलम्बन गर्नुपर्ने हुन्छ । दीगो विकासको अवधारणाअनुसार विकास निर्माणको कार्य गर्दा वातावरणीय सन्तुलनमा खलल नपर्ने, धेरै समयसम्म टिकाउने हुनेगरी वातावरणीय प्रभाव मूल्यांकन गनुपर्ने हुन्छ । सोहीअनुसार निर्माण कार्य सुरु गरिन्छ । 

तर, मोहन्यालको बाँका खोलामा निर्माण भएको मोटरेबल पुल निर्माण गर्दा प्राविधिक स्टमेटलाई लत्याएर निर्माण गरिएले निर्माण सम्पन्न भएको चार महिना बित्न नपाउँदै छेउबाट भाँसिएर भत्किँदै गएको स्थानीय दीनेश रावलले बताए ।

यता, पुल भाँसिएको विषयमा पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर नवराज रावललाई बुझ्दा उनले वर्षासँगै आएको भेलले पुलको छेउबाट हल्का काटेको र निर्माण कम्पनीले उक्त पुल मर्मत गरिसकेको भन्दै पन्छिन खोजे । 

यो त एक उदाहरण मात्रै हो । पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेका हरेक योजना निर्माण सम्पन्न भएको महिना दिन पुग्न नपाउँदै भत्किने, भाँसिने, उप्किने गरेको देखिन्छ । निर्माण कार्यमा ठूलो कमिसनको चलखेल हुने भएकाले पनि निर्माण व्यवसायी गुणस्तरहीन निर्माण सामग्री  प्रयोग गरेर विकास निर्माणका कार्य गर्ने गरेको बताइएको छ ।

दुई/चार जनाको मिलेमतोमा निर्माण हुने विकास निर्माणका कार्यको प्रत्यक्ष लाभभन्दा पनि असर जनतामा पर्ने गरेको स्थानीय तपेन्द्र रावलले बताए । 

बाँका खोलामा निर्माण भएको पुलको उदाहरण दिँदै भने, ‘कर्मचारी र ठेकेदारबीचको कमिसनको खेलले यो पुल निर्माण सम्पन्न भएको महिना दिन बित्न नपाउँदै भत्किएको छ । जसको असार उनीहरूलाई भन्दा पनि हामीलाई परेको छ ।’

यदि निर्माण कम्पनीसँगै कर्मचारीको कमिसनको चलखेल नभएको भए किन निर्माण सामग्री गुणस्तरहीन प्रयोग गर्छ र यसको निगरानी  किन हुँदैन? उनले प्रश्न गरे ।

पछिल्लो समय कैलाली जिल्लामा विकास निर्माणका कार्यमा मन्त्रीदेखि कर्मचारीको मिलेमतोमा कमिसनको चलखेल हुने गरेको पाइन्छ ।
२९ असार २०७७ सालमा इन्द्रधनु अछाम निर्माण सेवा कैलाली, टीकापुरले मोहन्याल गाउँपालिका–७ स्थित बाँका खोलाको २०.६ मिटर लम्बइको पुल निर्माणका लागि सम्झौता गरेको थियो । उक्त पुल निर्माणका लागि सम्झौता भएको एक वर्षमै निर्माण कम्पनीले २० चैत्र २०७८ मा काम सम्पन्न गरेको थियो । 

पुल निर्माण सम्पन्न भएको चार दिनपछि निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालय कैलालीलाई हस्तान्तरण गरेको थियो । उक्त पुलको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरेका हुन् ।