close

चन्द्रमासँगै चम्किने तयारीमा चन्द्रागिरि

चन्द्रमासँगै चम्किने तयारीमा चन्द्रागिरि

Trulli
ADVERTISEMENT

काठमाडौँ । ‘उज्यालो चन्द्रागिरि’ अभियान संचालन गरिरहेको चन्द्रागिरि नगरपालिकाले प्रमुख स्थानहरूमा निगरानीका लागि सिसिटिभी र सडक बत्ती जडान गरेको छ । काठमाडौँबाट बाहिरिने प्रमुख नाकाका रुपमा रहेको नगरपालिकाका राजमार्गमा झन्डै एक सय अत्याधुनिक सिसिटिभी जडान गरिएको छ ।

‘रातिको समयमा बढी दुर्घटना हुने हुँदा निगरानीको लागि राजमार्गमा सिसिटिभीको आवश्यकता अनिवार्य बनेको हो,’ चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पालिकाखबरलाई बताए ।

नगरप्रमुख गिरीको यो दोस्रो कार्यकाल हो । उनले अघिल्लो कार्यकालमा नै ‘उज्यालो चन्द्रागिरि’ अभियान अघि सारेका थिए । ‘आधुनिक समाजमा पूर्वाधारको विकास मात्र भएर पुग्दैन । प्रविधिको विकास पनि आवश्यक छ । त्यसैले प्राविधिक विकासलाई पहिलो प्राथमिकतामा राख्नको लागि यो अभियान चलाइएको हो,’ उनले भने । 

सिसिटिभी जडानको काम पहिलो कार्यकालमा नै थालिएको उनले बताए । ‘सडक बत्ती पर्याप्त मात्रामा नहुँदा यसको प्रभावकारी उपयोग हुन सकेन । सडक उज्यालो नभएकाले सिसिटिभीबाट कैद भएका तस्बिर देखिएनन् । सिसिटिभीको प्रभावकारिता बढाउनकै लागि पनि सडक बत्तीको आवश्यकता महसुस गरिएको हो,’ उनले बताए । 

हातमा टर्च लाइट नलिई रातिको समयमा पनि नगरपालिकाको जुनसुकै स्थानमा हिँड्न सक्ने वातावरण बनाउने योजनामा चन्द्रागिरि नगरपालिका छ । अहिले बत्ती जडान नभएका स्थानमा थप गर्नुपर्ने सुझावहरू आइरहेका छन् । यस्ता ठाउँमा माग अनुसार सडकबत्ती थप्ने काम भइरहेको उनले जानकारी दिए । 

नगरपालिकाले यस वर्षको वार्षिक बजेटमा झन्डै साढे २ करोड रुपैयाँ सडकबत्ती र सिसिटिभी जडानको लागि छुट्याएको छ । बजेटले १५ हजारभन्दा बढी सडक बत्ती जडान गर्न सक्ने नगरपालिकाको अनुमान छ । एक वर्षमा नगरपालिकाको सबै सडकलाई २४ घण्टै उज्यालो बनाउने लक्ष्य लिएको नगरप्रमुख गिरीले बताए । 

भर्खरै मात्र सिसिटिभी जडान भएकाले चोरी डकैतीका गुनासाहरूमा कमी नआएको उनी बताउँछन् । ‘आउँदा दिनमा सडक बत्ती र सिसिटिभीले चोरी डकैती नियन्त्रण गर्न सहज हुने छ,’ उनको अनुमान छ । 

पालिकाको कार्यलाई डिजिटलाइजेसन गर्नका लागि नागरिकले घरमा नै बसेर पालिकाको सेवा लिन सक्ने व्यवस्था गर्ने योजना समेत नगरपालिकाको छ । जसका लागि जेआइएस जिबिएस प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भइसकेको गिरीले बताए । 

सम्पूर्ण नगरपालिकाबासीलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने योजना पनि चन्द्रागिरि नगरपालिकाको छ । यस योजनालाई सफल बनाउन मुख्य सार्वजनिक स्थलमा फ्री वाइफाइको व्यवस्था मिलाइने उनले बताए । 

नगरपालिकाका चोक, बसपार्क, बजार, धार्मिकस्थल, स्वास्थ्य तथा शिक्षण संस्था वरिपरि वाइफाइ जडान गरिने दाबी उनको छ । वाइफाइ जडानका लागि एक करोड बजेट छुट्याइएको छ । 

नगरपालिका आफैले सिसिटिभी साइबर राख्न सके यसको व्यवस्थापन थप प्रभावकारी हुनसक्ने नगरप्रमुख बताउँछन् । यसका लागि आवश्यक बजेट आगामी आर्थिक वर्षमा विनियोजन गर्ने योजना छ । 

इन्टरनेट सेवा प्रदायबाट हाल सिसिटिभी क्यामेराको निगरानी भइरहेको छ । राजमार्गका सिसी क्यामेराको निगरानी भने महानगरीय प्रहरी वृत्त थानकोटले गरिरहेको छ । 

चन्द्रागिरि नगरपालिका उपत्यका प्रवेश गर्ने पश्चिमी नाका हो । जहाँ दैनिक ३० देखि ४० हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका हुन्छन् । समय समयमा प्रहरीले सवारीसाधन चेकिङ गर्छन् । तर गाडीको संख्याको हिसाबमा प्रहरीलाई चेकिङ गर्न समय लाग्ने गरेको छ ।  

गाडीमा चढेर मान्छे गन्नुपर्ने , लाइसेन्स सक्कली वा नक्कली जाँच गर्नुपर्ने सुक्ष्म टिपोट गरेर रेकर्ड राख्नुपर्ने प्रहरीको बाध्यता छ । यस्ता कामलाई प्रविधिको प्रयोगले सहजीकरण गर्ने तयारी चन्द्रागिरि नगरपालिकाको छ । 

प्रविधिको प्रयोगबाटै सवारीसाधन जाँच गर्ने, लाइसेन्स चेक गर्न मिल्ने बनाइने छ । यसका लागि अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधि भित्राउने निर्णय नगरपालिकाले गरेको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग पनि यस विषयमा सल्लाह भएको मेयर गिरीले जानकारी दिए । नगरपालिकाको नागढुङ्गामा यो प्रविधि प्रयोगमा ल्याइने छ । 

यसको लागि ट्राफिक व्यवस्थापनसँग पनि छलफल गरिसकेको नगरप्रमुख गिरीले बताए । यसको निर्माणको लागि झन्डै  साढे २ करोड रुपैयाँ लाग्ने अनुमान छ । उपत्यकाको सबै स्थानीय तहसँग सल्लाह गरेर यो प्रविधि भित्राउने काम अघि बढाइने उनले बताए । 

यो प्रविधि ल्याइएपछि ट्राफिकलाई सवारीसाधनको संख्या गन्न र चेकिङ गर्न सहज हुने भएको छ । यो प्रविधि सफल भएमा अन्य नाकामा पनि प्रयोग गर्ने उपत्यकाका स्थानीय तहहरूले योजना बनाएका छन् ।