close

पेट्रोल पम्पसम्बन्धी कानून कागजमै सीमित, बर्सेनि धनजनको क्षति बढ्दो

पेट्रोल पम्पसम्बन्धी कानून कागजमै सीमित, बर्सेनि धनजनको क्षति बढ्दो

Trulli
ADVERTISEMENT

काठमाडौं । गत जेठ २२ गते टेकुको कनक पेट्रोल पम्पमा आगोलागी हुँदा एकको मृत्यु भयो भने एकजना घाइते भए । 
यता २०७४ साल कातिक २३ गते त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोर परिसरमा आगोलागी हुँदा एक जनाको मृत्यु भयो भने दुईजना घाइते भए । 

यसरी काठमाडौं महानगरभित्रका पेट्रोल पम्पमा हुने यस्ता दुर्घटनाले काठमाडौंवासीलाई झस्काइरहन्छ । काठमाडौंमा मापदण्डविपरीत बनेका पेट्रोप पम्पहरूको अनुगमन कसले गर्ने भन्नेमा समेत सम्बन्धित निकायहरूबीच विवाद छ । 

यसको अनुगमन र पेट्रोल पम्पलाई सुरक्षित बनाउनको लागि सम्बन्धित निकायको ध्यान पुगेको छैन । यस विषयमा नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याप भन्छन् ‘उपत्यकाका कतिपय पेट्रोलपम्प साँधुरा छन् । सडक बढ्ने क्रममा क्षेत्रफल घटेर ति पेट्रोल पम्प साँघुरिएका हुन् । पुराना मापदण्ड अनुसार बनेका पेट्रोलपम्प नयाँ मापदण्डमा योग्य ठहरिएका समेत छैनन् । ’ 

तर, यस्ता क्षेत्रलाई पनि सुरक्षित बनाउन आवश्य रहेको उनी बताउँछन् । पेट्रोल पम्प सुरक्षित बनाउनुपर्छ भनेर बेला बेलामा निगमले अनुगमन गरेर पेट्रोल पम्पलाई सुरक्षित बनाउनुपर्ने उनी बताउँछन् ।  मापदण्डमा नरहेको पेट्रोलपम्पलाई मापदण्डअनुसार बनाउन दबाब दिनको लागि निगमले निरन्तर अनुगमन गरेको उनको दावी छ । 

पेट्रोल पम्पलाई मापदण्ड अनुसार संचालन गर्न पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ कार्यान्वयनमा छ । जसअनुसार पेट्रोलपम्प संचालन गर्न कम्तीमा ७५० वर्गमिटर क्षेत्रफल जमिन चाहिन्छ । यस्ता पम्प मानवबस्तीभन्दा कम्तीमा पनि ५०० मिटर टाढा हुनुपर्छ । नियमावलीमा एउटा पेट्रोलपम्पबाट अर्को पेट्रोल पम्पको दूरी कम्तीमा पनि ३०० मिटर हुनुपर्ने उल्लेख छ । तर, यो नियम कतै लागू भएको देखिँदैन । काठमाडौंमा त घरमा सटरमा समेत पेट्रोल पम्प देख्न सकिन्छ । सोह्रखुट्टेमा  रहेको कोतः धुक आयल स्टोर यसको उदाहरण हो । जुन स्टोर चार तल्ले घरको भुइतल्लामा चलिरहेको छ । 

संघीय सरकारको निगरानीमा पेट्रोल पम्पमा संचालन हुन्छन् । तर आफ्नो जमिनमा पेट्रेलपम्प भएका स्थानीय तहले मापदण्ड अनुरुप सञ्चालन भए नभएको अनुगमन गर्ने अधिकार राख्छ । काठमाडौं उपत्यकामा मापदण्डविपरीत धेरैवटा पेट्रोलपम्पहरू सञ्चालनमा छन् । 

त्यसैले काठमाडौं महानगरपालिकाले अब नयाँ पेट्रोल पम्प खुल्न नदिने निर्णय गरिसकेको छ । हाल पेट्रोलपम्प सञ्चालन भइरहेको स्थानमा भविष्यमा विष्फोट, आगालागीजस्ता विपद् आउन नदिन महानगरले ध्यान दिइरहेको काठमाडौं महानगरपालिकाको प्रवक्ता नवीन मानन्धर दाबी गर्छन् । 

उनी भन्छन्, ‘मापदण्डविपरीत बन्दा विष्फोट हुनसक्ने जोखिम भएकाले त्यसको क्षति सबै क्षेत्रलाई हुन्छ । अब पेट्रोल पम्प खोल्दा व्यवस्थित  र मापदण्डभित्र रहेर मात्र खोल्न पाउनेछन् । तर रिङरोडभित्र कुनै पनि पेट्रोलपम्प खोल्न पाइँदैन ।’ 
२०५५ सालमा मापदण्ड आउनुभन्दा अघिदेखि सञ्चालनमा आएका पुराना पेट्रोल पम्प पनि उपत्यकामा छन् । तर, आफूलाई मापदण्ड अनुरुप बनाउन उनीहरूले कुनै पहल गरेका छैनन् । सडक बिस्तारको क्रममा सडकमै टाँसिन पुगेका पुराना पेट्रोल पम्प पनि उत्तिकै छन् । 

सडक र घर नजिकै रहेका पेट्रोलपम्पले भविष्यमा निम्त्याउन सक्ने जोखिमकाबारे निगमसमेत चनाखो हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले समेत यस विषयमा चासो दिएको देखिँदैन ।