close

कमलविनायक-नगरकोट सडक किन अवरुद्ध

कमलविनायक-नगरकोट सडक किन अवरुद्ध

Trulli
ADVERTISEMENT

भक्तपुर ।स्थानीयले भक्तपुरको कमलविनायक नगरकोट सडकखण्ड बन्द गरेका छन् । आठ वर्षदेखि निर्माण कार्य अलपत्र रहेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 

वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामाका अनुसार सडक निर्माण ढिलाइ भएकाले सडकको बीचमा माटो थुपारेर सडक बन्द गरिएको हो । 

सडक बन्दका लागि १५ टिप गाडी माटो ओसारेर सडकमा थुपारेको उनले बताए । सडक निर्माणका लागि स्थानीय सरकार र स्थानीयले पटक–पटक ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको वडाध्यक्ष लामा बताउँछन् । 

सडक टालटुल गरे पनि सडक निर्माण हुन नसकेकाले स्थानीयको सहयोगमा दबाबमूलक कार्य गर्दै आएको उनले बताए । 
कमलविनायक–नगरकोट सडक खण्डसम्मको १६ किलोमिटर निर्माणका लागि आठ वर्षअगाडि ‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ कन्स्ट्रक्सन र एआइपिएल जेभीसँग निर्माण सम्झौता भएको थियो । 

०७१ जेठ २२ मा  भएको सम्झौताअनुसार ०७३ कातिक ४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । 

आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुने गरी सार्वजनिक खरिद ऐन १२ औँ संशोधनअनुसार हालसम्म आठ पटक म्याद थप गरिएको छ । 

ठेकेदार कम्पनीका अनुसार हालसम्म ७८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न हुँदासम्म थप चार करोड बजेट थप हुने अनुमान गरिएको छ । तर, सडकको अवस्था थप जीर्ण हुँदै गएको स्थानीयको भनाइ छ । 

निर्धारित समयमा सडक निर्माण कार्य सम्पन्न नभएपछि स्थानीयले यसअघि शैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारीको फोटो पम्पलेटको रुपमा सडकका विभिन्न ठाउँमा टाँसी विरोध गरेका थिए । स्थानीयले मन्त्रीको गाडीसमेत रोकेका थिए ।

यस्तै, सडक निर्माणका लागि दबाब दिन वडा नम्बर ६ र ७ का वडाध्यक्षले वडाबाट प्रवाह हुने सेवा सडकबाट प्रवाह गरेका थिए ।