close

नमोबुद्धलाई विश्व पर्यटकीय स्थल बनाउने गुरुयोजना कहाँ थन्कियो ?

नमोबुद्धलाई विश्व पर्यटकीय स्थल बनाउन नगरपालिकाले डिपिआर २०७६ सालमा नै तयार पारेको नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टि पि शर्मा तिमल्सिना बताउँछन् ।

नमोबुद्धलाई विश्व पर्यटकीय स्थल बनाउने गुरुयोजना कहाँ थन्कियो ?

नमोबुद्धलाई विश्व पर्यटकीय स्थल बनाउन नगरपालिकाले डिपिआर २०७६ सालमा नै तयार पारेको नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टि पि शर्मा तिमल्सिना बताउँछन् ।

Trulli
ADVERTISEMENT

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नमोबुद्धलाई विश्व पर्यटकीय स्थलको रुपमा विस्तार गर्न गुरुयोजना तयार पारेको छ। नमोबुद्धलाई विश्व पर्यटकीय स्थल बनाउन नगरपालिकाले डिपिआर २०७६ सालमा नै तयार पारेको थियो। 

नगरपालिकाको वडा नं ११ मा पर्ने नमोबुद्ध गुम्बा क्षेत्रको विकासको लागि करिब ६७ लाख रुपैयाँ लाग्ने गुरुयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ। 

नगरपालिकाको ११ वटै वडामा फरक-फरक पर्यटकीय सम्भावना रहेको नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टि पि शर्मा तिमल्सिना बताउँछन् । इको टुरिजम, धार्मिक पर्यटनको नगरपालिका भरि नै सम्भावना रहेको उनको भनाई  छ। 

नमोबुद्ध नगरपालिका तामाङ समुदायको बाहुल्यता रहेको नगरपालिका हो। तामाङ समुदायको अन्तिम राजा रेनदेन दोर्जेको दरबार रहेको क्षेत्र पनि नमोबुद्ध नगरपालिकामै पर्छ। रेनदेन दोर्जेको भग्नावशेष रहेको क्षेत्रलाई संरक्षण र विकास गरिएको उनले जानकारी दिएका छन्। वडा नं ५ मा रहेको यस क्षेत्रमा अहिले बाटो कालोपत्रे भइरहेको छ। 

भारतको गयादेखि लुम्बिनी, स्वयम्भु, बौद्ध, ठिमी, चाँगुनारायण हुँदै बनेपा, धुलिखेल, नमोबुद्ध आउने सर्किट निर्माणको काम आफ्नो कार्यकालमा थालनी गरेको पूर्वमेयर तिमल्सिनाको दाबी छ। 

नगरपालिकाले हरेक वडामा बुद्धको फरक-फरक अवतारको स्तुपा बनाउने योजना समेत तयार पारेको छ। उनी भन्छन्, ‘पञ्च बुद्ध, शाक्य मुनि, कृष्ण, शिवसँग जोडिएका बुद्धको स्तुपा बनाएर बुद्ध धर्मको पहिचान र अध्ययन गर्ने पर्यटकले नगरपालिकाभरी घुम्ने वातावरण तयार पार्नु हाम्राे कर्तव्य हो।’ 

संस्कृतिसँग जोडिएको विषयमा बाहुन क्षेत्रीको पनि आफ्नै किसिमको संस्कार छ । नगरपालिकाभित्रै पर्ने अम्बर अखण्ड हरि कीर्तनमा २४ घण्टै हरे रामको नाममा अखण्ड सामुहिक कीर्तन हुन्छ ।  ‛त्यस कीर्तनका अन्य दुईतीन वटा शाखा पनि छन् । नेपालभर आफ्नो प्रचारप्रसार गरिरहेको छ,’ यस अम्बर निवासलाई धार्मिक पर्यटनको रुपमा पनि अघि बढाउन पनि योजना बनाइएको उनले जानकारी दिए।

नमोबुद्ध गुम्बा परिसरमा तिब्बति समयका आयुर्वेदिक औषधीहरु उपलब्ध गराउने योजना पनि अघि बढाउन छलफल भइरहेको छ। नमोबुद्ध आसपासका जङ्गलको संरक्षण गरेर हरियाली कायम गर्ने, हरियाली टारलाई व्यवस्थित गर्ने काम नगरपालिकाले गर्नुपर्ने उनी बताउँछन् । 

नमोबुद्ध परिसरमा माछामासु र रक्सी प्रतिबन्ध गर्ने योजना रहेको उनले बताए। नमोबुद्ध क्षेत्रलाई शान्त बनाउने उदेश्यले यस्तो योजना ल्याइएको हो। दुई स्थानमा नमोबुद्धको प्रवेशद्वार तयार भएको छ। अर्को एक स्थानमा प्रवेशद्वार बनाउने योजनामा नगरपालिका रहेको उनले बताए ।  

आफ्नो कार्यकालमा गुरु योजना बनाउने काम गरेका तिमल्सिना उक्त योजनालाई पुरा गर्न आफ्नो तर्फबाट सँधै काम गर्ने बताउँछन् । धुलिखेल बनेपा र पनौती नगरपालिकासँग पनि यस गुरुयोजना जोडिएकाले यसको कार्यान्वयनको लागि तिनै वडामा समन्वय गर्नुपर्ने उनी बताउँछन् । 

नमोबुद्धलाई विश्व पर्यटकीय क्षेत्रमा विकास गर्ने नगरपालिकाको वहुवर्षे योजना रहेको नमोबुद्ध नगरपालिकाको उपमेयर रत्न बहादुर लामा बताउँछन् ।   

‘गुरुयोजना तयार भएपनि हालसम्म यसको काम सुरु भएको छैन । यो योजना नगरपालिकाको गौरब हो । नगरपालिकामा सबैसँग छलफल गरेर गुरुयोजनाअनुसार चाँडै नै काम सुरु गछौँ ,’ उनले पालिकाखबरसँग भने । 

डिपिआर अनुसार यस्तो बन्ने छ नमोबुद्ध

नमोबुद्धमा प्रवेश गर्न तीन फरक फरक स्थानमा प्रवेशद्वार हुनेछन् । नमोबुद्धमा प्रवेशद्वारबाट पैदल यात्रा सुरु हुनेछ । केहि पर नै सुतिरहेको बुद्धको मन्दिर हुनेछ। मन्दिरबाट उकालो चढ्दा सार्वजनिक शौचालयको व्यवस्था गरिने छ। 

सिँढीबाट पैदलयात्रा गरेर पर्यटकले नमोबुद्धको अवलोकन गर्न पाउनेछन् । बाटोको आसपासमा भएका रुखले शीतलता दिनेछ । नमोबुद्धको उकालो चढ्दै जाँदा बाटोमा थकाइ मार्न प्रतीक्षालयको निर्माण हुनेछन् । 

सवारीसाधनमा नमोबुद्ध घुम्न गएका पर्यटकको लागि बस बिसौनी निर्माण गरिनेछ । बुद्धको मुर्ति भएको पार्क बाटो-बाटोमा बनाइने छन्। 

बाटोमा ढुङ्गेधारो र पोखरी बनाइनेछ । सोलार बाटोमा जडान हुनेछन् । सुन्दर बगैँचाहरूले नमोबुद्ध सुसज्जित हुनेछ । सामुदायिक कक्ष बन्ने छन् । जहाँ बौद्ध धर्म र धार्मिक स्थलको अध्ययन गर्न जाने व्यक्ति बस्न सक्छन्। वनभोजका लागि पुगेका पर्यटकको लागि पिकनिक स्पट निर्माण हुनेछ । 

केही पर ध्यान केन्द्र हुने छ । ध्यान गर्नका लागि छानो सहितको ध्यानको एकाइ बनाएका हुनेछन् । ध्यान केन्द्रको अगाडी बुद्धको मुर्ति हुनेछ । सुन्दर पैदल हिँडेर नमोबुद्ध गुम्बा क्षेत्रमा पुग्न सकिने छ । गुम्बा नजिकै बगैचा र कला केन्द्र र चोर्तेन गुम्बा हुनेछन् । अर्कोतिर ६० फिट अग्लो गुम्बाको मुर्ति हुनेछ । गुम्बाको पछाडिबाट ओरालो झरेपछि सुन्दर पोखरी बनाइएको हुने छ । 

नमोबुद्धको पौराणिक कथा 

बुद्धको जन्म हुनुभन्दा अघिल्लो जन्ममा उनी माहसत्व नाम गरेका राजकुमार थिए । एकदिन वन सयरका लागि उनी जङ्गल पसे । जङ्गलमा उनले एउटा केहीदिन अघि मात्र ब्याएकी, भोको र दुर्बल बघिनी देखे । बघिनी भोकलाई खप्न नसकेर आफ्नै साना डम्मरुलाई खाने अवस्थामा पुगेकी थिई । बघिनीले आफनै डम्मरुलाई खाने पाप नगरोस् भनेर ति राजकुमारले आफ्नो शरिर बघिनीलाई सुम्पिए । 

ति माहसत्व राजकुमार बोधिसत्त्व रहेको धर्मावलम्बीहरुको मान्यता रहेको छ । बोधिसत्त्व देह दान गरेको शरिरलाई खाएर बघिनी र डमरुको ज्यान बचेको र उनले देह त्यागेको स्थानमा नै उनको हड्डी पुरेर चैत्यको निर्माण गरेको भन्ने पौराणिक कथा छ । र त्यस चैत्य नै नमोबुद्ध रहेको भन्ने धार्मिक मान्यता छ ।