close

चुनावी नारामा भुल्दै डेढ सय वर्षदेखि झुलिरहेछ, झुलाघाटको झोलुङ्गे पुल

राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि यसै चुनावी एजेन्डा बनाएका छन्। स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलबाट मोटरेवल पुल निर्माण गर्ने प्रतिबद्धताको ओइरो लाग्न थालेको छ।

चुनावी नारामा भुल्दै डेढ सय वर्षदेखि झुलिरहेछ, झुलाघाटको झोलुङ्गे पुल

राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि यसै चुनावी एजेन्डा बनाएका छन्। स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलबाट मोटरेवल पुल निर्माण गर्ने प्रतिबद्धताको ओइरो लाग्न थालेको छ।

Trulli
ADVERTISEMENT

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल निर्माण गर्ने राजनीतिक दलका चुनावी एजेन्डा नयाँ होइन। हरेक चुनावको मुखमा यो मुद्दा अघि सार्न थालिएको धेरै वर्ष बितिसक्यो। तर, चुनाव सकिएसँगै यो मुद्दा पनि सेलाउने गरेको छ। अहिले पनि झुलाघाटमा कहिले मोटरेवल पुल निर्माण हुन्छ भन्ने यकिन छैन।

राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि यसै चुनावी एजेन्डा बनाएका छन्। स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलबाट मोटरेवल पुल निर्माण गर्ने प्रतिबद्धताको ओइरो लाग्न थालेको छ।

यस सीमा नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल नै सञ्चालनमा छ। तत्कालीन समयमा महाकाली नदीमा इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुल यतिबेला जीर्ण अवस्थामा छ। कुन दिन कस्तो अनिष्ट हुने हो भन्ने भय स्थानीयमा देखिन्छ।

सुदूर पहाडका लागि भारत जोड्ने मुख्य नाकाका रुपमा रहेको यहाँ मोटरेबल पुल नहुँदा व्यापार व्यवसायमा असर पर्दै आएको छ ।

झुलाघाटमा पक्की पुल निर्माणका लागि  बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई समेत बुझाएको थियो। तर, स्थानीयको माग कतै सुनवाइ भएन। त्यही कारण २०७६ सालमा उद्योग वाणिज्य सङ्घको अगुवाइमा यहाँका स्थानीय सदरमुकाममा ३६ दिन लामो रिले अनशनसमेत बसेका थिए।

बुधबार मात्रै पाटनमै आयोजित लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले झुलाघाट पुल निर्माण गरेरै छाड्ने दाबी दोहराए। “झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु”, उनले पुराना दाबी फेरि दोहराए।

त्यही सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल गर्ने दाबी गरे। “झुलाघाटमा पक्की पुल निर्माणबारे गठबन्धनका उम्मेदवारले माग गरेका छन्। यो यहाँको आवश्यकता हो, गठबन्धनका उम्मेदवारलाई जिताउनोस् झुलाघाटमा पक्की पुल निर्माणको काम अगाडि बढाइनेछ”, प्रचण्डको आश्वासन थियो।

त्यसअघि कात्तिक १८ गते पाटनमै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झुलाघाटमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

यसका साथै एक महिनाअघि मात्रै बैतडी पुगेका काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पनि झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन बाँड्न बिर्सिएनन्। झुलाघाटमा मोटरेबल पुल निर्माण गर्न काँग्रेस नेतृत्वको सरकार बनाउन सहयोग गर्नुपर्ने सर्त भने उनले मतदाता समक्ष राखे। प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री समेतले झुलाघाटमा पक्की पुल निर्माणका लागि आश्वासन दिए पनि यहाँ स्थानीय बासिन्दा भने अझै पक्की पुल बन्ने विश्वासमा छैनन्।

निर्वाचनको बेला नेताहरूले भोट माग्नका लागि मात्रै पुल निर्माणको आश्वासन दिने गरेकाले विश्वास लाग्न छाडेको बैतडीको दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरी बताउँछन्। उनी भन्छन्, “निर्वाचनका बेला मात्रै झुलाघाटमा मोटरेवल पुलको एजेन्डा बन्ने गरेको छ, निर्वाचनपछि भने यो कुरा सबैले बिर्सिन्छन्, कसैले पहल गर्दैनन्।”

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द पुल निर्माणको आवाज उठेको वर्षौ भइसकेको भए पनि कसैले पहल नगरेको गुनासो गर्छन्। उनी भन्छन्, “हामीले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझायौँ, अनसन बस्यौँ, नेताहरूले खाली आश्वासन मात्रै दिए। पुल बनाउन केही पहल भएन । त्यसैले हामीलाई राज्यले सधैँ हेपेको महसुस हुने गरेको छ।”

नदी सीमामा भएकाले पुल निर्माणका लागि भारत सरकारको सहमति पनि आवश्यक पर्छ। दुवै देश तयार भएमा मात्रै यो पुल निर्माणको काम अघि बढ्न सक्छ।

तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लामै आएर पुल निर्माणको काम अगाडि बढाउने भनेको र लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचन जिते पुल बन्ने दाबी गरे।

सुदूरपश्चिमकै पुरानो नाका झुलाघाट भएर सुदूरपश्चिमका मात्रै नभए कर्णाली प्रदेशका अधिकांश नागरिक भारत-नेपाल आवतजावत गर्ने गर्छन्। झुलाघाट नाकामा पक्की पुल निर्माणको माग सीमावर्ती भारतीय नागरिकले समेत गर्ने गरेका छन्। सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान महँगो हुने गरेको छ।

सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने स्थानीय व्यापारीहरू बताउँछन्।