काठमाडौं। काठमाडौं महानगर क्षेत्रकामुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ ।
यस अघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बिच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका थिए ।
बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।
रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताए।
महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितलनिबाससम्म, सिनामंगलअन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकवत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।
यसै गरी विद्युत प्राधिकरणको लगानी मासिना मंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।
यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्री लगायत सामानको आफैँले पुन प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिने छ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्ने जनाइएको छ । त्यसपछि सडक बत्तीप्रयोग भएवापत्को शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।