close

पाँचखाल खानेपानी आयोजना: सात हजार घरमा पानी पुर्याइने

पाँचखाल खानेपानी आयोजना: सात हजार घरमा पानी पुर्याइने

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र सो कार्य सम्पन्न हुने भएको छ ।

विसं २०७६ भदौमा सम्झौता गरिएको सो आयोेजनाको काम २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो ।  

नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको हो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । प्रतिउपभोक्ता परिवारले खानेपानी आयोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् । 

हाल आयोजनाको काम ८५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए। ‘केही स्थानमा पानी परीक्षण समेत गरिएको छ’, उनले भने। दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने बताइएको छ । आयोजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएका छन् । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ ।  

अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० कामदार खटिएको बताए। पाँचखालमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ । करिब चार हजार घरमा धारा जडानको काम सकिएको लामछिानेले बताए।