close

वोटानिकल पार्क निर्माणसहित माछापालन परियोजना सञ्चालन गर्दै अर्जुनचौपारी

वोटानिकल पार्क निर्माणसहित माछापालन परियोजना सञ्चालन गर्दै अर्जुनचौपारी

Trulli
ADVERTISEMENT

स्याङ्जा– अर्जुनचौपारी गाउँपालिकाले वोटानिकल पार्क निर्माण सहित माछापालन परियोजना सञ्चालन गर्ने भएको छ । यसका लागि गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रममा छनौट भइ परियोजनाको लागि गाउँपालिकाले अनुदान पाएको छ । 

परियोजनाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग बुधबार सम्झौता भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । सम्झौता अनुसार परियोजनाको लागि ७५ लाख रुपैयाँ प्रदेश सरकारको अनुदान रहने छ ।  सो रकमको ३० प्रतिशत रकम भने गाउँपालिकाको लगानी रहने गरि सम्झौता भएको उनले पालिकाखबरसँग बताए । 

वडा नं १ अर्जुनचौपारी बजार नजिकै वोटानिकल पार्कसहित माछा पालन गर्न लागेको पालिका अध्यक्ष तिवारीले बताए । उनका अनुसार पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा अध्यापन हुन्छ । गाउँपालिकाले उक्त कृषि विद्यालयसँग सहकार्य गरेर सो परियोजना सञ्चालन गर्ने उनले बताए । ‘वोटानिकल गार्डेनमा विद्यार्थीलाई प्राक्टिकल पनि हुन्छ ।’ गाउँपालिकाले ‘इको टुरिजम’को अवधारणामा काम गर्न सो परियोजना ल्याएको उनले बताए । 

सोहि पार्कमा माछा पालन समेत गर्ने उनले जानकारी दिए । उनले भने, ‘प्रयोगात्मक कार्यका रुपमा माछा पालनमा विद्यार्थीको सहभागिता रहन्छ नै । गाउँपालिकाले पनि माछा पालनका लागि कर्मचारी खटाउँछ ।’ 

परियोजना चालु आर्थिक वर्ष २०८०/८१ भित्र नै सम्पन्न गरिसक्ने उनले बताए । परियोजना सञ्चालन समिति निर्माण गरेर पार्कका लागि विरुवा रोप्ने, दुबो रोप्ने, माटो परिक्षण, मल राख्ने जस्ता काम गर्ने उनले बताए । उनले भने, ‘ठूलो बजेटको आकार भएको काम ठेक्कामार्फत सञ्चालन गछौँ ।’