close

भुक्तानी नपाएका निर्माण व्यवसायीलाई करैयामाइ अध्यक्षको आश्वासन - ‘दिन्छु तर, काम चाहिं नरोक्नू’

भुक्तानी नपाएका निर्माण व्यवसायीलाई करैयामाइ अध्यक्षको आश्वासन - ‘दिन्छु तर, काम चाहिं नरोक्नू’

Trulli
ADVERTISEMENT

बारा- करैयामाइ गाउँपालिका-१ मा निर्माणाधिन १० श्ययाको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करैयामाइ-१ का वडाध्यक्ष सोनालाल साह तेलीका अनुसार हाल दलानको काम भइरहेको छ । 

गत आर्थिक वर्ष ०८९/०८० देखि भुपेन्द्र जेबी कन्ट्रक्सनले सो अस्पताल निर्माण थालेको गाउँपालिकाका इन्जिनियर विवेक कुशवाहाले बताए । गाउँपालिकाका अनुसार १० करोड ८५ लाख लागत अनुमान गरी ठेक्का लगाइएको थियो । ठेकेदार कम्पनीले ८ करोड ७६ लाख ४४ हजार १८६ रुपैयाँमा सम्झौता गरेको थियो । भुपेन्द्र जेबीले आगामी असार १६ गतेभित्र सक्नेगरी काम तीव्र बनाइएको भुपेन्द्र जेबी कन्ट्रक्सनका इन्जिनियर इन्द्रजित प्रधानले बताए । 

भुपेन्द्र जेबी कन्ट्रक्सनका अनुसार सरकारले समयमा भुक्तानी नगर्दा ढिलो भएको हो । तीन महिना अगाडि तेस्रो किस्ताबापत २ करोड १० रुपैयाँ भुक्तानीका लागि आवेदन दिए पनि हालसम्म भुक्तानी नआएको इन्जिनियर प्रधानले गुनासो गरे ।

उनका अनुसार भुक्तानी आउछ भन्ने गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादव हौसला र आश्वासनका कारण काम भने रोकिएको छैन। उनले भने,‘समयमा सक्नका लागि लोन लिएर काम तीव्र हुँदैछ । काम नरोक्ने गाउँपालिकाको आग्रहअनुसार ऋण काँढेर काम गरिरहेका छौं ।’ कम्पनीले गाउँपालिकासँग २०७९ असार १६ गते सम्झौता गरी काम थालेको थियो । अध्यक्ष यादवले भुक्तानी नपाएका निर्माण व्यवसायीलाई भुक्तानी दिने तर काम भने नरोक्न आग्रह गरेपछि कामले निरन्तरता पाइरहेको व्यवसायीले बताए । 

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षभित्रै सक्ने गरी समन्वय तथा अनुगमनको काम भइररहेको छ । अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्थानीयहरूले वडाबाट उपचार पाउने भएकाले समयमा सक्नका लागि भूमिका निर्वाह गरिरहेको वडाध्यक्ष सोनालालले बताए ।