close

भूकम्पपछि हैजाको डर, छैन खाने-बस्ने ठाउँ

भूकम्पपछि हैजाको डर, छैन खाने-बस्ने ठाउँ

Trulli
ADVERTISEMENT

अफगानिस्तानमा दुई दशकयता आएको शक्तिशाली भूकम्पबाट बचेकाहरूले आफूहरूसँग खान र बस्नका लागि केही नभएको बताएका छन् ।

साथै उनीहरुले सम्भावित हैजाको प्रकोपको डर लागेको समेत बताएका छन् ।

बीबीसीले भूकम्पबाट सबैभन्दा बढी प्रभावित पक्तिका प्रान्तमा पुगेर त्यहाँको पछिल्लो वस्तुस्थितिबारे रिपोर्टिङ गरेको छ ।

आफ्नो घरको बाँकी भग्नावशेषमा सामान खोज्दा आगा जानका आँखा रसाए । "यी मेरा छोराका जुत्ता थिए," धूलो टक्टक्याउँदै उनी भन्छन् ।

उनका तीन साना छोराछोरी र दुई श्रीमतीले सुतिरहे बेला भूकम्पमा परी ज्यान गुमाएका थिए ।

बुधवार बिहान भूकम्पको धक्का महसुस भएपछि आगा जान आफ्नो परिवार बसेको कोठातर्फ हतारिँदै पुगे ।

"तर सबैकुरा भग्नावशेषमा पुरिएका थिए," उनले भने ।

"त्यहाँ मेरो बेल्चा पनि पुरिएको थियो । मैले गर्न सक्ने केही थिएन । मैले सहयोगको लागि मेरा भतिजाहरूलाई बोलाएँ तर जुनबेला हामीले मेरो परिवारलाई बाहिर निकाल्यौँ, उनीहरू जीवित थिएनन् ।"

आगा जानको गाउँ वरपरको क्षेत्र पाक्तिका प्रान्तको बर्माल जिल्ला भूकम्पबाट सबैभन्दा बढी प्रभावित मध्येको एक हो ।

त्यहाँ झण्डै एक हजार मानिसको ज्यान गएको र तीन हजारभन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।

यहाँ आइपुग्न पुग्न नजिकैको ठूलो सहरबाट गाडीमा तीन घण्टा लाग्छ ।

प्रायः सडकहरूमा खराब छन् र दुर्गम स्थान भएकाले घाइतेहरूलाई उपचारका लागि लैजान पनि निकै असहज हुन्छ ।

यहाँबाट कतिपयलाई तालिबानको सैन्य हेलिकप्टरबाट अस्पताल लगिएको थियो । -बिबिसीबाट