close

विद्यालय बन्द हुँदा पनि दिवा खाजाको खर्च यथावत्

विद्यालय बन्द हुँदा पनि दिवा खाजाको खर्च यथावत्

Trulli
ADVERTISEMENT

झापा । जिल्लाका केही स्थानीय तहले विद्यालय बन्द हुँदा पनि विद्यार्थीलाई खाजा खुवाएको भन्दै दिवा खाजा खर्च रकम बिनिजोजन गरेको महालेखाले जनाएको छ । 

जिल्लाका अर्जुनधारा, कन्काई, मेचीनगर, दमक, गौरीगञ्ज लगायतका पालिकाले विद्यार्थीको दिवाखाजाको रकम अनियमितता गरेको पाइएको छ।

कोरोना संक्रमणका कारण २०७८ बैसाख १३ गतेदेखि असार मसान्तसम्म विद्यालय बन्द भएको अवस्थामा प्रतिविद्यार्थी १५ रूपैयाँका दरले खाजाको पैसा पालिकाले निकासा गरेका हुन् । विद्यार्थीको हाजिरीको आधारमा विद्यार्थीलाई उपलब्ध गराउने खाजा खर्च विद्यालय बन्द अवस्थामा पालिकाले निकासा गरेसँगै महालेखाले यस विषयमा प्रश्न उठाएको हो ।  

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम पुस्तिका ०७७/०७८ मा तराईका जिल्लामा प्रतिविद्यार्थी १५ रूपैयाँका दरले १८० दिनको दिवाखाजा खर्च विद्यार्थी हाजिरीको आधारमा उपलब्ध गराउने व्यवस्था छ। तर, नियमविपरीत विद्यालय नै नलागेको अवस्थामा खाजा खर्चको रकम निकासा गरेसँगै महालेखाले खाजा खर्चको रकम यकिन गरी उपलब्ध गराउन पालिकलाई निर्देशन दिएको छ।

अर्जुनधारा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय रहेका छन् । बाल कक्षादेखि ५ कक्षसम्मका विद्यार्थीलाई खाजा खर्च बापतको रकम संघीय सरकारले उपलब्ध गराउँदै आएको छ तर २८ वटै सामुदायिक विद्यालय बन्द रहेको अवस्थामा खाजाबापतको रकम अर्जुनधारा नगरपालिकाले निकासा गरेको हो । कन्काई नगरपालिकामा १४ वटा सामुदायिक विद्यालय छन् । 

जसमध्ये १–३ एउटा, १–५ तीन वटा, १–८ चार वटा, १–१० तीन वटा, १–१२ तीन वटा रहेका छन्। यो नगरमा समेत विद्यालय बन्द रहेको अवस्थामा खाजा खर्चको रकम निकासा भएको पाइएसँगै महालेखाले खर्चको यकिन गरी बाँकी रकम जम्मा गर्न निर्देशन दिएको हो । दमकमा समेत बिद्यालय बन्द भएको अवस्थामा खाजा खर्चको रकम विद्यार्थीलाई खाजा खुवाएको अभिलेख तयार गर्दै रकमको अनियमिमता भएसँगै महालेखाले प्रश्न उठाएको हो।

यता गौरीगञ्ज गाउँपालिकामा समेत खाजा खर्च बापतको रकम पालिकाले अनियमितता गरेसँगै महालेखाले प्रश्न उठाएको हो। कोरोना संक्रमणका कारण विद्यालय बन्द रहेको अवस्थामा प्रदेश १का १९ पालिकाले विद्यार्थी खाजाको रकम अनियमितता गरेका छन्। 

सरकारले दिवाखाजाका लागि निकासा गरेको ६ करोड ९३ लाख ७० हजार रूपैयाँको खर्चको यकिन गर्न महालेखाले पालिकालाई भनेको छ। प्रदेश १ का गौरीगञ्जसहित १८ पालिकाले पाँच करोड तीन लाख ५५ हजार रूपैयाँ खर्च गरेको पाइएसँगै विद्यार्थीको खाजा खर्चमा महालेखाले प्रश्न उठाएको छ । 

विद्यार्थीको खाजा खर्चमा भएको अनियमितताका विषयमा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईलाई जिज्ञासा राख्दा सो रकम सम्बन्धित विद्यालयलाई फिर्ता गर्न लगाउने बताए ।  गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले खाजा खर्चको रकम आफूहरूले निकासा गरेको बताए । सुरूमा आफूहरूलाई खाजा खर्चको रकम के गर्ने भन्ने विषयमा अन्यौल भएको र विद्यालयलाई निकासा गरेको कार्कीले बताए । 

यता अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शशीकला राईले कोरोनाको समयमा विद्यालय बन्द भएको अवस्थामा रकम विनियोजन नगरेको बताइन् । उनले आफू माघ महिनाबाट मात्रै अर्जुनधारा नगरपालिकाको जिम्मेवारीमा आएको र सोभन्दा अगाडिको विषयमा जानकारी नभएकाले यस विषयमा आफूले सत्यतथ्य बुझ्ने बताइन् ।  

उता मेचीनगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले महालेखाले बेरुजु देखाएसँगै आफूहरूले विद्यालयलाई निकासा गरेको रकम फिर्ता गरेर पठाएको तर महालेखाले ‘एक्सेप्ट’ नगरेका कारण बेरुजु देखिएको बताए ।