close

असार १० मा भई सक्नुपर्ने नगरसभा अझै नहुँदा सबै काम ठप्प

असार १० मा भई सक्नुपर्ने नगरसभा अझै नहुँदा सबै काम ठप्प

Trulli
ADVERTISEMENT

सप्तरी - कञ्चनरुप नगरपालिकामा चालू आर्थिक वर्ष २०८०/०८१ का लागि अझै बजेट पारित हुन सकेको छैन । चालू आव सुरु भएको तीन महिना बित्न लाग्दा पनि पालिकाभित्र बजेट सिलिङ र जनप्रतिनिधिबीच आवश्यक समन्वय नभएपछि बजेट पारित हुन नसकेको हो । 

नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलका अनुसार बजेट निर्माणका लागि पालिकाभित्र छलफल नभएकोले पारित हुन नसकेको हो । उनले चालू आवका लागि बजेट पेश भएको तर पारित नभएएको पालिका खबरलाई सुनाइन् । 

बजेट निर्माणका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले खबर नगरेकोले नगरसभा हुन नसकेको उनले बताइन् । 'मेयरसाब र हाकिमसाबले बजेट निर्माणको लागि मसँग छदफल गर्नु भएन,' उनले भनिन्, 'नगरसभा गर्ने दिन १० मिनेट अघिमात्रै बजेटको प्रतिवेदन पढ्नु भनेर मेरो हातमा दिनु भयो । सोही कुरामा चित्त नबुझेर बजेट पारित हुन नसकेको हो ।' 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपप्रमुखलाई पनि बजेटको अधिकार दिएपनि सोबाट आफू बञ्चित हुनु परेको उनको गुनासो छ । बजेट पारितका लागि आवश्यक छलफल भइरहे पनि कहिले हुने भन्नेबारे आफू जानकार नभएको उनले बताइन् । उनले आफू र नगरप्रमुख एउटै राजनीतिक दलबाट भए पनि आवश्यक समन्वय नगरेको बताइन् । 

नगर कार्यपालिकाको बैठक बसी चाँडै बजेट पारित हुन सक्ने उनले सुनाइन् । पालिकामा बजेट पारित नभएपछि आर्थिक कारोबारका कुनै पनि सेवा सञ्चालन हुन सकेको छैन । 

नगरपालिकाका पशु तथा पन्छी शाखाका शाखा प्रमुख दिवाकान्त चौधरीका अनुसार नगरसभा नभएकाले शाखाका सम्पूर्ण कार्य ठप्प रहेका छन् । नगरसभा भएसागै सबै कार्यक्रम सञ्चालन हुने उनको विश्वास छ । 

उनका अनुसार पालिकाले असोजको मसान्तसम्म बजेट पारित गर्ने योजना बनाएको र आवश्यक छलफल भइरहेको छ । साेबारे नगरप्रमुख ललनप्रसाद गुप्तालाई थप जानकारीकाे लागि पालिकाखबरले सम्पर्क गर्न खाेज्दा फाेन उठेन ।

१२ वटा वडा रहेको नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित ५ वटा वडामा नेपाली काँग्रेस ४ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा जनता समाजवादी पार्टीले जितेको छ ।