close

नगरप्रमुखविरुद्ध पत्रकार सम्मेलन

नगरप्रमुखविरुद्ध पत्रकार सम्मेलन

Trulli
ADVERTISEMENT

 रामगोपालपुर नगरपालिकाका नगरप्रमुख अशोककुमार मण्डलविरुद्ध  बहुमत वडाअध्यक्षहरू आन्दोलित भएका छन् ।

९ वटा वडा रहेको सो नगरपालिकाका ८ वडाका वडाअध्यक्षहरूले बिहीबार जिल्ला सदरमुकाम जलेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मण्डलविरुद्ध आन्दोलन गर्नु परेको बताएका हुन् ।

८ वडाअध्यक्षहरूसहित कार्यपालिकाका १० जना सदस्यहरू सहभागी पत्रकार सम्मेलनमा रामगोपालपुर नगरपालिकाको प्रत्येक वडामा लागू हुने गरी सञ्चालन गरिएको ‘मेयर सिँचाइ आयोजना’ मा नगरप्रमुख मण्डलले १ करोड ९५ लाख रुपैयाँ अनियतिता गरेको दाबी गरेका थिए ।

प्रत्येक वडामा पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर जडान गर्नुपर्नेमा कुनै ठाउँमा २÷४ वटा पोल मात्रै गाडेर तार टाँगेको, कुनै ठाउँमा तार मात्रै राखेर ट्रान्सफर्मर जडान नगरकाले नगरप्रमुखबाट  अनियतिता भएको दाबी उनीहरूको छ ।

नगरप्रमुखले विकास निर्माणका कुनै पनि कार्यक्रम सञ्चालन गर्दा वडाध्यक्षहरूलाई सोधपुछ नगरेको, सहीछाप नगराएको तथा खर्च पारदर्शी नदेखिएको उनीहरूले बताए ।

वडाध्यक्षहरूबिनै नगरप्रमुखले नगरसभा सम्पन्न गरेको र केही सदस्यहरूलाई झुक्याएर रातीको समय माइन्युटमा हस्तारक्षर गराएको उनीहरूको तर्क छ ।

यस्तै, नगरप्रमुखले कुनै कुनै वडामा वडा स्तरबाट सञ्चालित योजनाहरूको भुक्तानीसमेत अहिलेसम्म नदिए पनि  आफूले सञ्चालन गरेका योजनाको भुक्तानी भने गरिसकेको उनीहरूले बताए ।

नगरप्रमुख मण्डलले कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, लेखालगायतलाई हातमा लिएर लाखौंको भ्रष्टाचार गरेको र आफू निकट व्यक्तिलाई योजना, ठेक्का र आफ्ना मान्छेहरूलाई कार्यालयमा जागिरसमेत दिएको आरोप वडाध्यक्षहरुले लगाएका छन् ।