close

९ जनालाई घरभित्रै थुनेर वडाध्यक्षले लगाए ताल्चा

९ जनालाई घरभित्रै थुनेर वडाध्यक्षले लगाए ताल्चा

Trulli
ADVERTISEMENT

भक्तपुर नगरपालिका–१० कमलविनायकका एक कोरोना संक्रमित पुरुषको घरमा ९ जनालाई घरभित्रै राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् । 


करिब ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो ।  यसपछि  श्वासप्रश्वासमा समस्या आएपछि हाल उनको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ । 

कोरोना संक्रमित परिवारलाई होम आइसोलेसनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा लगाइदिएपछि पीडित परिवार थप मानसिक तनावमा परेको संक्रमितका परिवारले बताएका छन् ।  

वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरा गरी बस्ने पाँच जना गरी ९ जना घरभित्रै  राखेर मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिएको छ । उनीहरूको टोलीले केही परे छिमेकीलाई भन्नू भनेर गएको परिवारले जनाएका छन् ।

बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पीडामाथि पीडा थपेको परिवारको गुनासो छ ।  

 

भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मारेको दाबी गरे । भाडामा बस्ने बाहिर आउजाउ गर्दा छिमेकीमा संक्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनको भनाइ छ ।

अरू संक्रमितको घरमा डोरीले बाँध्ने र घर सिल गर्ने गरे पनि यस घरमा भने प्रहरी र छिमेकीको रोहबरमा ताल्चा मारेर केही परे छिमेकीलाई भन्नू भनेर साँचो छिमेकीलाई दिएको वडाध्यक्ष ह्यौमिखाले बताए । 

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति दुई साता होम आइसोलेसन बस्नुपर्ने र कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पिसिआर परीक्षण गर्दै आएको उल्लेख गरे ।

 

कमलविनायकमा भने वडाध्यक्ष र छिमेकीले नै परिवारको सहमतिमा बाहिरबाट ताल्चा मार्न भनेपछि प्रहरी रोहवरमा बसेको जनाउँदै पीडितको निगरानी छिमेकी र जनप्रतिनिधिले गर्नुपर्ने उनले बताए ।