close

जसपाका नेताको लाेकल कुखुरा माेह, कुटो-कुदालोमै बित्छ दैनिकी

जसपाका नेताको लाेकल कुखुरा माेह, कुटो-कुदालोमै बित्छ दैनिकी

Trulli
ADVERTISEMENT

रुकुमपूर्व- राजनीति पेसा नभएर समाजसेवा हो भन्ने मान्यतालाई रुकुमपूर्वका एक जना नेताले व्यवहारमै उतार्न थालेका छन् । उनले जीविकोपार्जन र समाजलाई उत्प्रेरणा दिन कृषिलाई पेसा बनाउन थालेका हुन् ।


जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं जसपा रुकुमपूर्वका इञ्चार्ज उपेन्द्रलाल कामीले गत फागुनदेखि राजनीतिसँगै कृषि पेसा अँगालेका हुन् । कामीले सिस्ने गाउँपालिका- ६ लुस्पा पोखरास्थित जग्गा भाडा एवं बन्धकीमा लिई तरकारी खेती र लोकल कुखुरापालनलाई पेसा बनाएका छन् ।  

 

‘राजनीतिमा लाग्ने मानिस भाषण तथा कुरा मात्र गर्छन् भन्ने गुनासो छ’, नेता कामीले भने, ‘सामाजिक रूपमा हेर्दा राजनीति मात्र गर्नेको जीवनशैली रवाफिलो देखिन्छ, जसले जनताको मनमा प्रश्न उब्जाइदिएको छ । यसलाई तोड्न र विदेशिने तन्नेरीलाई गाउँमै अड्याउन कृषि कर्ममा जोडिएको हुँ ।’ कृषि कर्म गरे पनि अझ बढी राजनीतिमा समय दिन सकेको र आर्थिक रूपमा सबल बन्दै गएको कामी अनुभव सुनाउँछन् । 

 

सिस्ने- ६ स्थित लुस्पामा आठ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा भाडा एवं डेढ रोपनी २५ हजार रुपैयाँमा बन्धकीमा लिई तरकारी उत्पादन र लोकल कुखुरा पालन गरिरहेको उनले सुनाए । विभिन्न जातको तरकारी उत्पादन र लोकल कुखुरा बिक्रीबाट घरपरिवारको सबै खर्च जुटिरहेको र तरकारी बेचेर नगद बचत हुन थालेको उनले जानकारी दिए । 


‘जिल्लाको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा अर्गानिक तरकारी उत्पादन बल्क कार्यक्रमका लागि प्रस्ताव पेस गरेको छु’, कामी खुसी सुनिन्छन् ।

 

उक्त प्रस्ताव छनोटमा परे सिस्ने- ६ का तरकारी उत्पादन हुने सम्भावित ठाउँका कृषकलाई बल्क कार्यक्रममा समावेश गरी सरकारले लागू गरेको अर्ग्यानिक उत्पादन कार्यक्रममा कृषकलाई जोडेर कृषिमै आत्मनिर्भर गराउने योजना रहेको उनले बताए ।