close

संक्रमितको घरदैलोमा रामग्राम सरकार

संक्रमितको घरदैलोमा रामग्राम सरकार

Trulli
ADVERTISEMENT

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्तासहितको टोली कोभिड–१९ संक्रमितहरूको घर–घरमै पुगेर औषधी वितरण सुरु गरेको छ । नगरभित्रका सबै बिरामीलाई स्वास्थ्यकर्मीमार्फत घरमै गई परामर्श दिने र औषधीसहित स्वास्थ्य सामग्री वितरण गर्ने कामको वडा नम्बर ४ बाट सुरु भएको छ ।

 

आइसोलेसनमा बसेकाहरूलाई आवश्यक पर्ने प्राथमिक औषधी सिटामोल, जिंक चक्की, भिटामिन सी, भिटामिन बी टुवेल, जीवन जलसहित मास्क र जनचेतनामूलक प्रचार सामग्री लिएर नगरप्रमुख गुप्ता घरघर पुगेपछि संक्रमित खुसी छन् ।

 

नगरभित्र कोभिड–१९ संक्रमित होम आइसोलेसनमा बसेका सबैलाई आवश्यक न्यूनतम औषधी र स्वास्थ्य सामग्री वितरण गर्ने योजना रहेको प्रमुख गुप्ताले जानकारी दिए ।
 

 

नगरप्रमुख गुप्तासहित स्वास्थ्यकर्मीको टोलीले संक्रमितको घरघरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेको छ ।

 

यसबाहेक नगरपालिकाले होम होम आइसोलेसनमा बसेका संक्रमितलाई आवश्यकताअनुसार टेलिफोनबाट स्वास्थ्यकर्मीमार्फत परामर्श दिने व्यवस्थासमेत मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए ।

 

घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामग्री वितरण भएपछि कोभिड संक्रमितको मनोबल बढाउन सहयोग पुगेको वडा नम्बर ४ का वडाध्यक्ष मदन यादवले बताए ।
 

यसअघि रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरस्थित पाल्ही बहुमुखी क्याम्पस भवनमा नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएपछि कोभिड बिरामीले सेवा लिँदै आएका छन् ।

 

रामग्राम नगरपालिका प्रमुखको गाडी बन्यो संक्रमित बोक्ने एम्बुलेन्स
 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले आफू चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका छन् ।

 

नगरपालिकाभित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले नगरप्रमुख गुप्ताले आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका हुन् ।

 

नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले चढ्ने लु१झ ४७३ नम्बरको स्कार्पियोलाई एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याएका हुन् ।

 

बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा आफूहरूले सुविधा लिनुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न उपयुक्त लागेर यस्तो निर्णय गरिएको नगरप्रमुख गुप्ताको भनाइ छ । नागरिकको करबाट खरिद गरिएको सरकारी गाडी नागरिककै लागि प्रयोगमा ल्याइएको उनले जानकारी दिए । कोभिड १९ संक्रमण न्यूनीकरण तथा रोकथामका लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको उपप्रमुख रम्भा कुँवरले बताइन् ।