छत्रराज पौडेल
नगरप्रमुख, गैँडाकोट नगरपालिका, नवलपरासी
संघले बजेट निर्माण गर्दा स्थानीय सरकारको सुझाव नलिने गरेकामा गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल असन्तुष्ट छन् । संघले स्थानीय सरकारलाई बजेट मनलाग्दी ढंगले वितरण गर्ने गरेको उनले बताए । ‘संघले बजेट निर्माणमा हामीलाई सोध्दैन,’ उनले भने, ‘माथिबाट हेरेर सबैतिर एकै खाले बजेट पठाइएको छ । मुख्य कुरा संघले स्थानीय तह भूगोल हो भन्ने बुझेन । बजेट सीधै पठाइयो भने काम हुन्छ भन्ने बुझेन ।’
बितेको चार वर्षमा संघले स्थानीय तहलाई ससर्तका योजना मात्रै पठाएर त्यसैमा अलमल्याएको उनको बुझाइ छ । कोरोना महामारीको समय केन्द्र सरकारले पहिलो लहरमा केही सहायता दिए पनि अन्य खर्च पठाएन । गैँडाकोट नगरपालिकाले कोरोनाको पहिलो लहरमा जनचेतना फैलाउने मुख्य काम ग¥यो । बाहिरबाट आउने मानिसका लागि स्थानीय स्तरको क्वारेन्टाइन निर्माण गरियो । बन्दाबन्दीको अवस्थामा किसानको उत्पादनलाई खेर जान नदिन नगरले कृषि सामग्रीलाई कृषि उपज बजारसम्म पुर्यायो । दोस्रो लहर आइपुग्दा नगरपालिकाले २० बेडको कोभिड अस्पताल बनाइसकेको थियो । यसको सञ्चालन, स्वास्थ्य सामग्री खरिदलगायत काम सबै नगर आफैंले गर्यो । जनशक्तिमा केही डाक्टर, नर्स भने संघीय सरकार मातहत खटाएको उनको भनाइ छ ।
नगरप्रमुख पौडेल आफ्नो नगरमा मुख्यतः कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । अहिले गैँडाकोटमा दूध बिक्री गर्ने ८ सय डेरी छन् । उत्पादित दूध डेरीलाई दिनुभन्दा ठूलो पाउडर उद्योग निर्माण गर्न सकिए किसानले फाइदा लिन सक्छन् भन्ने योजना बुनिँदै छ । कृषि उत्पादन बढाउन सिँचाइ व्यवस्था, धान र मकैको पकेट क्षेत्र घोषणा गरेर कृषिमा आत्मनिर्भर बनाउन खोजिरहेका छौँ । सबै क्षेत्रमा विद्युतीकरण गरिसकिएको छ । खानेपानीमा अहिले नगरबासीले समस्या बेहोर्नुपरेको छैन । सडक धमाधम निर्माण भइरहेका छन् । स्वास्थ्य क्षेत्रमा एउटा नगर अस्पतालसहित तीन वटा वडाबाहेक सबैमा स्वास्थ्य केन्द्र स्थापना भइसकेका छन् ।
हरेक माध्यमिक तहका विद्यालयमा स्टाफ नर्स व्यवस्था गरिएको छ । अहिले नगर क्षेत्रमा केबलकार निर्माण कार्यलाई प्राथमिकताका साथमा अगाडि बढाएका छौँ । कानुनका क्षेत्रमा २७ वटा कानुन निर्माण भएर सोहीअनुसार नगरका प्रशासनिक काम सञ्चालन गरिरहेका छौँ । अन्तिम वर्षको बजेटमा पनि मुख्य प्राथमिकता कृषिलाई नै दिएका छौँ । ‘हाम्रो मुख्य प्राथमिकता कृषि क्षेत्र हो,’ उनले भने, ‘यस वर्षको बजेटमा पनि त्यसलाई प्राथमिकतामा राखेका छौँ । यसबाहेक अन्य कार्यक्रम पनि छन् ।’
यस वर्षको बजेटमा नगरले रोजगार बढाउन महत्त्व दिएको छ । त्यस्तै, दूधमा आत्मनिर्भर बनाउन पशुपालनमा अनुदान दिनेलगायत कार्यक्रम समावेश गरिएका छन् । कोभिडको समय भएकाले सबैलाई खोप निःशुल्क लगाउने व्यवस्था मिलाउने कार्यक्रम समेटेका छौँ । यसबाहेक मौलाकाली केबलकार र नेपाल विश्वविद्यालय स्थापनालाई पनि प्राथमिकतामा राखेका छौँ । यस अवधिमा शिक्षा क्षेत्रमा धेरै कायपलट गर्न सक्यौँ । ‘हामीले मुख्यतः शिक्षामा धेरै परिवर्तन गर्न सकेनौँ,’ उनले भने, ‘विद्यालय मर्ज गर्न सकिएन । सिकाइलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई ल्यापटप पुर्याउन सकिएन । बसको व्यवस्था गर्ने भनिए पनि सकिएन ।’ वैकल्पिक मार्गलगायत थुप्रै काम यो कार्यकालमा गर्न नसकिएको उनले बताए ।