close

चार वर्षको मुख्य काम नागरिकलाई स्थानीय सरकारको अनुभूति  

चार वर्षको मुख्य काम नागरिकलाई स्थानीय सरकारको अनुभूति  

Trulli
ADVERTISEMENT

खगेन्द्र राई,  नगरप्रमुख
चौदण्डीगढी नगरपालिका, उदयपुर


स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आउँदै गर्दा धेरै चुनौती थिए । संविधान कार्यान्वयनको पहिलो चरण थियो । स्थानीय तहले सीमित स्रोत– साधनले  कानुन निर्माणलगायत थुप्रै काम गर्नुपर्ने  थियो । ती समस्यालाई हल गर्दै चौदण्डीगढी नगरपालिकाले अहिले आफूलाई  आवश्यक २७ कानुन बनाइसकेको छ । 
नगर प्रमुख राई चार वर्षे अवधिमा संविधानलाई संस्थागत गर्ने काम मुख्य भएको  बताए । ‘हामीले यो अवधिमा मुख्य काम संविधानलाई संस्थागत ग¥यौँ,’ उनले भने, ‘नागरिकलाई हामी स्थानीय सरकार भएको प्रत्यक्ष अनुभूति गरायौँ ।’ नगरले कृषि, स्वास्थ्य र शिक्षामा विशेया काम गरेको छ  । 


पूर्वाधारमा नयाँ सडक खोल्ने काम भएको छ । साथै, करिब ८ किमि सडक कालोपत्रे भइसकेको छ । शिक्षा सुधारमा विद्यालयमा शैक्षिक साम्रगी वितरणदेखि दिवा खाजा कार्यक्रम नगरले चलाएको छ  । गरिब विपन्नलाई फुसको छानो हटाएर जस्तापाताको छानो  फेरिदियौँ छ । स्वास्थ्यलाई सुलभ बनाउन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा रुपान्तरण गरेर चलाइरहेको छ । कृषि क्षेत्रको  विकासका लागि सिँचाइ गर्न ठूला मोटर राखिएको छ । किसानको उत्पादन नगरले खरिद गरिदिनेसम्म व्यवस्था गरेको छ । किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । दूधमा नगरपालिका आत्मनिर्भर भएको छ । नगरपालिकाले उत्पादित दूध धरानसम्म ढुवानी गर्दै आएको छ । ‘हामी दूधमा आत्मनिर्भर भइसकेका छौँ,’ उनले भने, ‘हामीले उत्पादन गरेको दूध धरानसम्म ढुवानी हुने गरेको छ ।’


यस वर्षको बजेटमा पनि कृषिलाई प्रथामिकतामा राखेका छौँ । किसानको उत्पादन खरिद गरेर बजारीकरण गर्ने, युवा स्वरोजगार कार्यक्रम, कोल्ड स्टोर निर्माणलगायत कार्यक्रम यस वर्षको बजेटमा समेटिएका छन् । 


चार वर्षको अवधिमा नदी नियन्त्रण र आवश्यक पुल निर्माण गर्न भने सकिएन । कोभिडका कारण पनि नगरको विकासमा धेरै असर पुगेको छ । नगरले कोभिड नियन्त्रण गर्न बाहिरबाट ल्याइएका मानिसलाई राख्न २ सय क्षमताको क्वारेन्टाइन बनाउने र विपन्नलाई राहत वितरण ग¥यौँ । दोस्रो लहरमा आइपुग्दा नगरपालिकाले कोभिड अस्पताल नै निर्माण गरिसकेको छ । उदयपुर कोभिड अस्पतालमा सातामा ६ दिन अनिवार्य कोभिड परीक्षण हुने गरेको छ । यो कोभिड अस्पताल जिल्लाका ८ वटा नगरपालिकाले मिलेर निर्माण गरे पनि सम्पूर्ण खर्च चौदण्डीले बेहोरिरहेको छ । ‘कोभिड अस्पताल हामीले ८ वटा नगरपालिका मिलेर बनाएका हौँ,’ उनले भने, ‘तर अहिलेसम्म खर्च बेहोरिरहेका छौँ ।’ अस्पतालमा अहिले एक जना एमबीबीएस, एक जना एमडी, दुई जना एचए र पाँच जना नर्स छन् । यो अवधिमा  १७४ संक्रमितलाई निको बनाएर अस्पतालबाट पठाइएको छ ।


कोभिड नियन्त्रणमा संघ र प्रदेशको समन्वय राम्रो रह्यो । ‘हामीसँग संघ र प्रदेश सरकारको समन्वय राम्रो छ,’ उनले भने, ‘बजेट पनि सुरुमा संघले १० लाख र प्रदेशले २० लाख रुपैयाँ पठाइदिएका थिए ।’ तर, संघले ल्याएको बजेटले स्थानीय सरकारको योजनालाई भने समेटेन । स्थानीय सरकारलाई पठाउने बजेट एकै मोडलको हुँदा समस्या भएको छ ।