close

महामारीमा संघले हेर्दै हेरेन 

महामारीमा संघले हेर्दै हेरेन 

Trulli
ADVERTISEMENT

अजयकुमार गुप्ता, नगरप्रमुख
गौर नगरपालिका, रौतहट 


नेपालमा कोरोना महामारी जब सुरु भयो, त्यसबेला भारतमा तीव्र हुँदै गएको थियो । नेपालबाट काम गर्न गएका श्रमिक धमाधम घर फर्किन थाले । सीमामा नेपालीको लाम थियो । त्यसबेला संघीय सरकारको तयारी केही थिएन । स्थानीय सरकारले आफ्नो क्षमताअनुसारको क्वारेन्टाइन बनाए पनि धान्ने अवस्था थिएन । हाम्रो नगरपालिकालाई पनि सबैभन्दा ठूलो चुनौती त्यसबेला बाहिरबाट आएकालाई व्यवस्थापन गर्नु थियो । नगरपालिकाले सीमामा हेल्थ डेस्क राख्ने र र ज्वरो जाँच गरेर क्वारेन्टाइमा राख्ने काम गर्‍यौँ  । ‘हामीलाई सदरमुकाम भारतसँग जोडिएको भएकाले सबैभन्दा चुनौती भारतबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्नु थियो,’ उनले भने, ‘त्यसबेला क्वारेन्टाइनमा बस्न पनि नमान्ने अवस्था थियो । संघीय सरकारको केही योजना पनि थिएन । हामीले आफ्नो क्षमताले बनाएको क्वारेन्टाइनमा राख्यौँ र लक्षण देखिएकालाई परीक्षण गर्‍यौँ ।’ 


नगरपालिकाले आफ्नो क्वारेन्टाइनको पूर्वतयारी गरेकाले मानिसलाई राख्न सजिलो भयो । त्यहाँ राखिएकामध्ये १४ दिनमा लक्षण देखिनेलाई नगरपालिकाले पिसिआर जाँचमा पठायो । लक्षण नदेखिएकालाई भने घर पठाइयो । संक्रमितलाई राख्न नगरमा आइसोलेसन बनायौँ । यसले संक्रमितलाई राख्न सहज भयो । पहिलो लहरमा कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन विधि अपनाएपछि सहजै व्यवस्थापन भयो । ‘हामीले आफ्नो तयारी गरेका थियौँ,’ उनले भने, स्वास्थ्य मापदण्ड अपनाएका थियौँ । परीक्षण, ट्रेसिङ र आइसोलेसनको विधि अपनाएकाले सहजै भयो ।’ 


पहिलो लहर सकिँदानसकिँदै पुनः भारत फर्किनेको लहर सुरु भयो । फेरि भारतमा अर्को लहर सुरु हुनासाथ नेपाली पुनः फर्किए । त्यसबेला पनि सकसपूर्ण अवस्था थियो । तर, हामीले ३० बेडको कोभिड अस्पताल बनाइसकेका थियौँ । डाक्टर, नर्सको आफैं व्यवस्थापन गर्‍यौँ । संक्रमितलाई खानाको व्यवस्था नगरपालिकाबाटै निःशुल्क ग¥यौँ । दोस्रो लहरमा होम आइसोलेसनको नियम भएकाले संक्रमण अझ बढी फैलियो । ‘संघीय सरकारले होम आाइसोलेसनको नियम लागू गरेको थियो,’ उनले भने, ‘जसले गरेर संक्रमण केही फैलियो । तर, हामीले अस्पतालमा राखेर उपचार गर्‍यौँ ।’ संघीय सरकारले दुवै लहरमा सहयोग गर्नुको सट्टा निर्देशन मात्रै पठायो । ‘हामीलाई संघले निर्देशन मात्रै दियो,’ उनले भने, ‘महामारी संघीय सरकारको एकल अधिकार हुँदा पनि सहयोग गरेन । हामी आफैंले जनचेतना, परीक्षण, आइसोलेसन व्यवस्थापनको काम गर्‍यौँ ।’ बजेट पनि सबै नगरपालिकाको आन्तरिक बजेटबाटै खर्च गर्‍यौँ । 


चार वर्षमा गौरमा धेरै परिवर्तन भएका छन् । सामाजिक सुरक्षालगायत व्यवस्थित गरिएको छ । राजस्व संकलनलगायतलाई अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ । कृषि क्षेत्रमा किसानका लागि बिउमा अनुदान दिएका छौँ । सिँचाइ समस्या भएका ठाउँमा नगर आफैंले बोरिङ व्यवस्था गरेर पानीको सुविधा दिएका छौँ । पूर्वाधारमा सडक निर्माण र विद्यालय भवन निर्माण भएका छन् ।


अहिले नगरका युवाका लागि नगरपालिकाको लोकसेवा तयारी कक्षा पनि सञ्चालन गरेका छौँ । यस्तै, स्वास्थ्य क्षेत्रमा ७ वटा वडा कार्यलयमा स्वास्थ्य केन्द्र निर्माण भइसकेका छन् । यो वर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेका छौँ । ‘यो बर्षको बजेटमा हामीले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेका छौँ,’ उनले भने, ‘यसबाहेक सहरको सौन्दर्य, पोखरी र नदीमा सौन्दर्यका कार्यक्रम पनि बजेटमा समेटिएको छ ।’ बजेट अभावले चार वर्षको अवधिमा पर्याप्त काम गर्न सकिएन ।