close

संघले नहेरेपछि आफ्नै बजेट काटेर कोरोना नियन्त्रणमा लाग्नुपर्‍यो 

संघले नहेरेपछि आफ्नै बजेट काटेर कोरोना नियन्त्रणमा लाग्नुपर्‍यो 

Trulli
ADVERTISEMENT

लुटबहादुर राउत
नगरप्रमुख, कोहलपुर नगरपालिका, बाँके 


स्थानीय सरकारको नेतृत्व गरिरहँदा संघीय सरकारको बजेट हाम्रो अनुकूल नभएको अनुभव छ । यसले सबै क्षेत्रलाई समेटेको छैन । कोरोनाको सन्दर्भमा पनि हामीलाई छुट्टै बजेट पठाइएन । छुट्टै बजेट पठाइदिएको भए विकासका कामलाई अगाडि बढाउन सकिन्थ्यो । तर, कोरोनामा सल्लाह र सुझाव मात्रै दियो । हामीले पहिलो चरणमा बाहिरबाट नेपाल प्रवेश गर्ने नागरिकलाई १५ वटा वडाको १५ विद्यालयमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायौँ । १४ दिन अनिवार्य बस्ने कुरामा निगरानी गरेर राख्यौँ । त्यसपछि लक्षण देखिएकालाई अस्पताल पठायौँ । नदेखिएकालाई घर पठायौँ । संक्रमित भएकालाई उपचारका लागि राख्न ५१ बेडको आइसोलेसन बनायौँ । 


सीमा क्षेत्रको नगरपालिका भएकाले भारतबाट आउने सबै नागरिकलाई आफ्नै गाडीमा ल्यायौँ र क्वारेन्टाइनमा राखेर मात्रै घर पठायौँ । पहिलो लहर सकिएसँगै क्वारेन्टाइन बन्द गर्‍यौँ  । घरमा सहज स्थिति भएकालाई होम आइसोलेसनमा बस्न भन्यौैँ । तर, अलि अफ्ठेरो परेका बिरामीलाई नगर आइसोलेसनमा ल्याएर राख्थ्यौँ । आइसोलेसनमा एक जना सहयोगी, दुई जना नर्स र एक जना डाक्टरसहित ५ जनाको टिम सबै खटियौँ ।


हामीसँग अहिले पनि आइसोलेसन तयारी अवस्थामा छ । तेस्रो लहर आए नगरबासीलाई बचाउन तत्पर छौँ । कोरोना नियन्त्रणमा पहिलो वर्षमा बजेट छुट्याएका थिएनौँ । यो वर्ष अन्य क्षेत्रको बजेट कटौती गरेर खर्च गर्‍यौँ  । दोस्रो वर्षबाट हामीले १ करोडका दरले छुट्याएका छौँ । 


चार वर्षे कार्यकालमा कोरोनाले पनि धेरै योजना पूरा गर्न सकेका छैनौँ । बजेट अभाव छ । तथापि हामीले चार वर्षको अवधिमा केही महत्त्वपूर्ण काम गरेका छौँ । नगरबाट पूर्व–पश्चिम राजमार्ग जोडिने र उत्तर–दक्षिणको सडक कालोपत्रे गरिसकेका छौँ । सडकहरूमा ह्युम पाइप र कल्भर्ट राख्ने काम गरेका छौँ । ज्येष्ठ नागरिकलाई संघबाट प्राप्त रकममा २/२ हजार थप गरेर दिएका छौँ । निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गराएका छौँ । नगरमा प्रावि शिक्षकले १२ सम्मको विद्यालय चलाएका थिए । यसलाई मिलाउन दरबन्दी मिलान गरेर शिक्षकको समस्या हल गर्‍यौँ । कोहलपुर बसपार्क निर्माण गरेका छौँ । व्यवस्थित सहर बनाउने योजनाअनुसार घन्टाघर र भ्युटावर निर्माण भइरहेको छ । पहिलो स्थानीय सरकार भएकाले हामीलाई कानुन बनाउने चुनौती पनि थियो । हामीले आवश्यकताअनुसार ९० वटा कानुन निर्माण गरिसकेका छौँ । 


कृषि क्षेत्रको विकासाका लागि पशुपालनमा अनुदान दिएका छौँ । दूधमा आत्मनिर्भर बनाउन पशुलाई सुत्केरी भत्ताको व्यवस्था गरेका छौँ । गाईभैँसीलाई प्रतिपशु २ हजार रुपैयाँ भत्ता दिएका छौँ । त्यस्तै, किसानलाई कृषियन्त्र, पम्पसेट, दूध दुहुने मेसिन, उन्नत जातको बिउ दिने गरेका छौँ । कार्यकालको अन्तिम बजेटमा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएका छौँ । दोस्रोमा कृषि, त्यसपछि अधुरा योजना, भ्युटावर र बसपार्कलाई प्राथमिकतामा राखेका छौँ । 


यो अवधिमा चाहेर पनि कतिपय वाचा पूरा गर्न सकेनौँ । कृषिलाई प्राथमिकतामा राखेर पनि दुई वर्षको बजेटमा राख्न सकेनौ । यसले प्रत्येक गाउँमा २÷३ वटा उत्पादनमा वृद्धि गर्ने सोच पूरा भएन । हामीले गरिब, गन्धर्व, वादी समुदायको २० वटा जति मात्रै घर बनाएर राख्न सक्यौँ । व्यवस्थित गर्न सकिएन । आन्तरिक र बाह्य पर्यटक ल्याउन पार्क, जंगल सफारी, आवास, होम स्टे सञ्चालन गर्न सकेनौँ ।